धुलिखेल नगरपालिका– ६ स्थित बिपी राजमार्ग सुरुविन्दुनजिक धुलिखेल अस्पताल चोकमा शिलान्यास भएको नौ वर्षपछि बिपीको प्रतिमा अनावरण हुने भएको छ। ०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेको प्रतिमा असोज ५ गते अनावरण गर्न लागिएको हो। राजनीतिक परिवर्तनलगायत विविध कारण रोकिएको प्रतिमा अनावरण आगामी असोज ५ गते कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अनावरण गर्ने तयारी भइरहेको छ ।
प्रतिमा स्थापनाका लागि ‘महामानव बिपी कोइराला प्रतिमा निर्माण मूल समिति’ गठन गरी काम अघि बढाइएको नेपाली कांग्रेस काभ्रे जिल्ला सहसचिव समीर ब्यन्जू श्रेष्ठले जानकारी दिए। प्रतिमा स्थापनाका लागि धुलिखेल नगर सभापति विदुरबहादुर बस्नेत नेतृत्वले जिल्ला सदस्य जितकृष्ण श्रेष्ठकाे संयोजकत्वमा समिति गठन गरेका थिए। त्यसअघि पनि श्रेष्ठ नै संयोजक थिए ।
ढलौटबाट बनेको प्रतिमाको लागत १५ लाख रुपैयाँ छ । पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकबाट संकलन गरी निर्माण गरिने श्रेष्ठले जानकारी दिए । नेपाली कांग्रेस धुलिखेल नगर समितिको संयोजन र निर्माण समितिको आयोजनामा हुने कार्यक्रमको तयारी भइरहेको सहसचिव ब्यन्जूले जानकारी दिए । नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाको उपस्थितिमा बैठक बसेर व्यवस्थापकीय तयारी गरिएको र बैठकले विभिन्न जिम्मेवारी तोकेर तयारी थालेको उनको भनाइ छ ।
बिपीको परिकल्पनामा ०५२ सालमा बिपी राजमार्ग निर्माण सुरु भएको थियो। २०१५ सालमै बिपीले राष्ट्रिय राजमार्गको परिकल्पना गरेर धुलिखेलबाट पूर्व जोड्ने सडक बनेको थियो। उक्त राजमार्गले धुलिखेलपूर्वको जनजीवन परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको हुनाले बिीको प्रतिमा अनावरण गर्ने तयारी भएको नगर सभापति बस्नेतले बताए। कोइरालाको सम्मानस्वरूप प्रतिमा स्थापना गरेको उनको भनाइ छ। प्रतिमा अनावरण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नगर सभापति बस्नेतले जानकारी दिए।