आइसिसी विश्वकप लिग २ : दोस्रो सिरिज खेल्न नेपाल तयार

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण
आइसिसी विश्वकप लिग २ : दोस्रो सिरिज खेल्न नेपाल तयार

फाइल तस्बिर

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को साता क्यानडामा आइसिसी विश्वकप लिग २ को दोस्रो सिरिज खेल्दै छ । नेपालले क्यानडासँगै ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सो सिरिजका लागि नेपालको तयारी राम्रो भएको मुख्य प्रशिक्षक मोन्टी देसाईले बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार टोलीको बिदाइ गरेको कार्यक्रममा देसाईले प्रतियोगिताका लागि तयारी राम्रो भएको जनाएका हुन् । 

नेपालले भारतको बैंग्लोर र श्रीलंकामा तयारी गरेको थियो । ‘यसपटक हाम्रो तयारी राम्रो भएको छ । खेलाडीले भारत र श्रीलंकामा प्रशिक्षण गर्न अवसर पाए,’ उनले भने, ‘श्रीलंकामा वर्षाले केही प्रभावित पारे पनि खेलाडीहरूको प्रदर्शनबाट खुसी छु ।’ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीहरूको बिदाइ गरेका हुन् । क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज ३१ भदौ देखि १० असोजसम्म हुनेछ । सिरिजमा नेपालको पहिलो खेल ३१ भदौमा क्यानडासँग र दोस्रो खेल २ असोजमा ओमानसँग रहेको छ ।

टोलीका कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी भने क्यानडामा नै छन् । क्यानडामा भएको ग्लोबल टी–२० लिगपछि उनीहरूले त्यहीँ नै प्रशिक्षण गरिरहेका छन् । क्यानले पूर्वप्रमुख प्रशिक्षक जगत टमाटालाई विशेष भूमिकामा नियुक्त गरेको छ । क्यानले अमेरिकामा हुने सिरिजमा लेग स्पिनर सन्दीप लामिछानेले प्रतिस्पर्धा गर्ने बताएका छन् । ‘यसपटक सन्दीपले अमेरिकामा खेल्नेछन्, सबैतिरबाट राम्रो प्रतिक्रिया आएको छ,’ क्यानका सचिव पारस खड्काले बताए । 

टमाटा कन्सल्टेन्स प्रशिक्षक 
क्यानले लिग २ को सिरिजका लागि जगत टमाटा कन्सल्टेन्ट प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । क्यानका सचिव पारस खड्काले टमाटालाई नियुक्ति गरिएको जानकारी दिएका हुन् । ‘हामीले दीर्घकालीन रूपमै सहायक प्रशिक्षकबारे छलफल गरिरहेका छौँ, तर भ्रमणका लागि गुरुलाई कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा नियुक्त गरिएको छ,’ सचिव खड्काले भने । लामो समयपछि राष्ट्रिय टोलीमा फर्कन पाउँदा खुसी लागेको टमाटाले बताएका छन् । 

राम्रो तयारी भएको छ : मोन्टी देसाई मुख्य प्रशिक्षक, नेपाल
घरेलु मैदानमा खेलिएको पहिलो सिरिजमा हामीले राम्रो नतिजा निकाल्न सकेनौँ । क्यानडा र अमेरिकामा हुने दुई सिरिजमा राम्रो खेल्ने प्रयास हुनेछ । नेपालमा भएको सिरिजको नतिजाबाट हामी दुःखी छौँ । नेदरल्यान्ड्स र नामिबियाविरुद्ध हामीले चाहेको जस्तो नतिजा निकाल्न सकेनौँ । हामीले बैंग्लोरमा धेरै प्रशिक्षकसँग सिक्ने अवसर पायौँ । साथै, श्रीलंकामा पनि हामी तयारी गर्न सफल भयौँ । हामीले सिरिजका लागि सबै पक्षमा हेरेका छौँ । अब हामीले क्यानडा र अमेरिकामा सिरिज खेल्दै छौँ । राम्रो नतिजा निकाल्न चाहान्छौँ । एकअर्कालाई विश्वास गर्ने काम पनि महत्वपूर्ण हुनेछ ।

सन्दीपले अमेरिकामा खेल्नेछन् : पारस खड्का, सचिव, क्यान 
मलाई लाग्छ सन्दीपको सम्बन्धमा सबै प्रक्रिया पूरा भइसकेको छ । क्यानडाबाट अमेरिका जानुपर्ने भएकाले हामीले आवश्यक काम गरेका छौँ । सबै पक्षबाट सकारात्मक, ग्रिन सिग्नल सबै ठाउँबाट आइसकेका छन् । सन्दीपले अमेरिकामा क्रिकेट खेल्नेमा ढुक्क छौँ ।

हामीलाई विदेशी भूमिमा प्रमाणित गर्ने अवसर छ : सन्दीप लामिछाने क्रिकेटर, नेपाल
घरेलु मैदानमा हारे बिर्सँदै नेपालले अब विदेशी भूमिमा आफूलाई अब्बल प्रमाणित गर्नुपर्छ । यो हामीलाई विदेशी भूमिमा प्रमाणित गर्ने अवसर पनि हो । यदि कसैलाई आएर हामीलाई घरेलु मैदानमा हराउँछ । हामीले पनि विदेशमा गएर नेपाल एसोसिएटको बलियो टोली रहेको प्रमाणित गर्नुपर्छ ।

See More On

सुझावित समाचार