बन्चरेडाँडा ल्यान्डफिल साइटको निगरानी अब काठमाडौंबाटै

बिहिबार, २० भदौ, २०८१
डिजिटल संस्करण

नुवाकोट र धादिङको सिमाना बन्चरेडाँडामा रहेको ल्यान्डफिल साइटको निगरानी काठमाडौं प्लाजाबाटै हुने भएको छ। काठमाडौं महानगरपालिकाले ल्यान्डफिल साइटको निगरानीका लागि सिसिटिभी क्यामेरा जडान गरेको हो।

साइटमा प्रवेश गर्ने सवारीसाधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको महानगरले जनाएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्यान्डफिल साइटमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरिएको हो।’

क्यामराबाट प्राप्त दृश्यहरू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी हुनेछ। वातावरण व्यवस्थापन विभागबाट पनि दृश्य हेर्न सकिने बनाइएको महानगरले जनाएको छ। साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा बुथ देखिने गरी क्यामरा राखिएका छन्। 

वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार नाैवटा क्यामराबाट साइटको निगरानी हुनेछ। महानगरको सूचना प्रविधि विभागका अनुसार ती क्यामेरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपिआर) क्यामरा हुन्। विभागका प्रमुख अनिरुद्र नेपालले भने, ‘यसबाट भिडियोको आवाज पनि सुन्न सकिन्छ। यसले डिजिटल मात्र होइन, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सक्छ। नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सक्छ।’

सुझावित समाचार