कञ्चनपुरको बेलौरी नगरपालिकाले गृहमन्त्री रमेश लेखकलाई सातबुँदे ज्ञापनपत्र बुझाएको छ । मंगलबार गृहनगर आइपुगेका गृहमन्त्री लेखकलाई नगरका मेयर पोतीलाल चौधरीले जिल्लाकै पहिलो सदरमुकाम बेलौरीको दिगो विकास र समृद्धिसँग जोडिएका विषयमा संघीय सरकारले गम्भीर चासो दिनुपर्नेतर्फ ध्यानाकर्षण गराए ।
मेयर चौधरीका अनुसार जिल्लाको दक्षिणी क्षेत्र डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी भएर बेदकोट हुँदै सदरमुकाम महेन्द्रनगर जोड्ने हुलाकी सडक आठ वर्षमा पनि निर्माण हुन सकेको छैन । यथाशीघ्र निर्माणका लागि संघीय सरकारले निर्माण कम्पनीलाई निर्देशन दिनुपर्ने र बेलौरी छोटी भन्सारलाई नाकाकै रूपमा विकास गर्ने माग अघि सारिएको बताए ।
त्यस्तै, इप्रका बेलौरीको कार्यालय स्तरवृद्धि गरेर डिएसपीको दरबन्दी राखिनुपर्ने, पचुई क्षेत्रमा हुलाकी सडक निर्माणमा भारतीय अवरोध खुलाउनुपर्ने, बेलौरीका सीमावर्ती क्षेत्रमा नेपाली किसानसँग जग्गाधनी प्रमाणपत्र भए पनि खनजोत उपभोगमा भारतीय अवरोध हुने भएकाले सो हटाउनुपर्ने, बेलौरी–कलुवापुर सडकखण्डमा निर्माणाधीन सडक शुक्लाफाँटा निकुञ्जको अवरोध हटाउनुपर्ने, छोटी भन्सारदेखि बेलौरी बजार हुँदै मैनाहसम्मको सडक स्तरोन्नतिका लागि पहल गरिदिन माग अघि सारिएको छ । बेलौरी नगरका मेयर पोतीलाल चौधरीले गृहमन्त्री लेखकलाई दिएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री लेखकले बेलौरी नगरपालिकाले अघि सारेका विषयमा सम्बन्धित मन्त्रालयमार्फत अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।