शिक्षाशास्त्र शिक्षक बन्नकै लागि भनेर पढिने संकाय हो । विश्वका धेरै देशमा शिक्षकको उच्च मान, सम्मान र प्रतिष्ठा हुने भएकाले यो संकायमा विद्यार्थीको आकर्षण अत्यधिक हुने गरेको पाइन्छ । तर, नेपालमा भने शिक्षक पेसामा प्रेरित गर्ने शिक्षाशास्त्र संकाय नै संकट पर्दै छ ।
कक्षा ११ र १२ उत्तीर्णपछि विदेश जाने युवाको लहर बढेसँगै अधिकांशले व्यवस्थापन र प्राविधिक विषय रोज्न थालेका छन् । तर, असल शिक्षक बनाउने शिक्षाशास्त्र संकायको पढाइ खुम्चँदै छ । विद्यार्थीको हाहाकार हुन थालेपछि कतिपय कलेजले शिक्षाशास्त्र र मानविकी शास्त्रको कार्यक्रम नै बन्द गरिसकेका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डिन कार्यालयका अनुसार कक्षा ११ र १२ मा मात्रै होइन, उच्च शिक्षा तहमा पनि शिक्षाशास्त्रमा विद्यार्थी संख्या घट्दो छ । त्रिविमा स्नातक तह र स्नातकोत्तर (बिएड र एमएड) मा ७९ हजार विद्यार्थी छन् । यसमध्ये हाल ११ हजार एमएड र ६८ हजार बिएड तहमा अध्ययनरत छन् । त्रिवि शिक्षाशास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकीका अनुसार शिक्षाशास्त्र पढ्न कम नम्बर ल्याए पनि हुने, कमजोर विद्यार्थीले पनि पढ्न पाउनेजस्ता गलत मान्यताका कारण यो विषयमा विद्यार्थीको आकर्षण बढ्न नसकेको हो ।
‘कक्षा ११ र १२ मा एजुकेसन पढ्दा विश्वविद्यालय तहमा पुगेपछि अन्य संकायमा जान नपाइने अवस्था छ, अर्कोतर्फ शिक्षाशास्त्र संकायका पनि विज्ञान, गणित, जनसंख्या, भूगोललगायत विषयको पढाइ हुनुपर्दथ्यो,’ उनले भने, ‘तर, यो विषयमा पढाइ हुन छाडेको छ, यस्तो अवस्थाले भविष्यमा शिक्षक उत्पादन र शिक्षाको गुणस्तरमा ठूलो समस्या निम्तिन सक्छ ।’ उनका अनुसार शिक्षाशास्त्र र मानविकी संकायमा पनि प्राविधिक विषय थप गर्ने हो भने विद्यार्थीको आकर्षण बढ्न सक्छ । तर, यसबारे पाठ्यक्रम नै निर्माण हुन सकेको छैन ।
त्रिभुवन विश्वविद्यालयका अनुसार पाँच वर्षअघिसम्म शिक्षाशास्त्र र मानविकी संकायमा सबैभन्दा धेरै विद्यार्थी हुन्थे । करिब पाँच लाख विद्यार्थीमध्ये तीन लाखभन्दा धेरै विद्यार्थी शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्रका विद्यार्थी हुन्थे । तर, अहिले यी संकायमा विद्यार्थीको चाप ह्वात्तै घटेको छ । हाल त्रिविको मानविकी संकायको स्नातक र स्नातकोत्तर तहको कार्यक्रममा विद्यार्थी संख्या एक लाखहाराहारी छ । कक्षा ११ र १२ मै शिक्षाशास्त्र र मानविकी पढ्ने ट्रेन्ड घटेका कारण भविष्यमा माथिल्लो तहमा विद्यार्थीको खडेरी हुने चुनौती छ ।
सरकारले विद्यालय शिक्षा विधेयकमा शिक्षक बन्न शिक्षाशास्त्र नै पढेको हुनुपर्ने बाध्यताको अन्त्य गर्ने प्रस्तावसमेत अघि सारेको छ । तर, त्यसले शिक्षाको गुणस्तरीयता र मर्ममा असर पार्न सक्ने भन्दै विरोध पनि भइरहेको छ । शिक्षक बन्न शिक्षाशास्त्र संकाय नै चाहिने त्रिवि, शिक्षाशास्त्र संकायका डिन बुढाथोकीले बताए ।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विदेश जाने विद्यार्थी संख्या बढेकाले मानविकी र शिक्षाशास्त्रमा विद्यार्थी नपाइने अवस्था आएको बताए । ‘शिक्षाशास्त्र र मानविकीमा कुनै नयाँ प्याकेज आएन, यी संकाय महत्वपूर्ण भए पनि समाजले यस्ता विषयलाई कमजोर ठान्यो । गत वर्ष १२ कक्षा पढेकामध्ये २८ प्रतिशत विद्यार्थी विदेश गएका छन्, विदेशमा पनि साइन्स र व्यवस्थापनमा अध्ययन गर्न गएका छन्,’ उनले भने, ‘शिक्षक पेसै नराम्रो भन्ने मान्यता रह्यो, किनभने नेपालमा सरकारले पनि शिक्षा र शिक्षक पेसालाई इज्जतको पेसा हो भनेर सम्बोधन गर्न सकेको छैन । शिक्षण पेसामा जागिर खाएका मानिसका छोराछोरी पनि शिक्षाशास्त्र पढ्न चाहँदैनन्, तर मिहिनेत गर्नेका लागि सबै विषय राम्रो हो, हरेक पेसाको समाजमा उत्तिकै महत्व छ ।’
विदेश जान व्यवस्थापन विषयप्रति आकर्षण
विद्यालयमा विद्यार्थी भर्ना भएको ट्रेन्ड हेर्दा पनि कक्षा १२ पासपछि विदेश जाने सपना बोकेर अधिकांश विद्यार्थीले व्यवस्थापन नै रोजेको देखिन्छ । उच्च शिक्षाको सिँढी मानिने कक्षा ११ मा भर्ना हुने विद्यार्थीले व्यवस्थापन विषय रोजेका छन् । विज्ञान विषयमा सीमित कोटा हुने भएकाले यस संकायमा विद्यार्थी संख्या पनि थोरै छ । निजी स्कुल–कलेजमा कक्षा ११ मा भर्ना हुन आएका अधिकांश विद्यार्थी व्यवस्थापन संकायमै आकर्षित छन् । विद्यार्थीको आकर्षण घट्दै गइरहेका कारण अधिकांश निजी स्कुलले कक्षा ११ र १२ मा शिक्षाशास्त्र र मानविकीशास्त्रको कार्यक्रम नै बन्द गरेका छन् । निजी स्कुलहरूले मानविकी र शिक्षाशास्त्रलाई हेर्ने दृष्टिकोणसमेत भिन्न छ । एसइईमा कमजोर नतिजा आएका विद्यार्थीले पढ्ने संकायका रूपमा समेत शिक्षाशास्त्र र मानविकी शास्त्रलाई हेर्दा यी संकायमा राम्रो अवसर भए पनि विद्यार्थीको आकर्षण कम छ ।
मध्यबानेश्वरमा रहेको रत्नराज्य स्कुलमा व्यवस्थापन संकायमा भर्ना हुने विद्यार्थी संख्या डेढ सय नाघिसक्यो । विज्ञान विषयमा ४८ जना भर्ना भइसके । तर, शिक्षाशास्त्र र मानविकीमा १४–१४ जना विद्यार्थी मात्रै भर्ना भएका छन् । तीमध्ये पनि जिपिए कमजोर आएका विद्यार्थी मानविकी र शिक्षाशास्त्रमा आएको विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले जानकारी दिए । पूरक परीक्षाको नतिजापछि शिक्षाशास्त्र र मानविकीमा विद्यार्थी बढ्ने उनले दाबी गरे ।
बौद्ध महांकालमा रहेको रहेको जनकल्याण माविमा पनि भर्ना हुन आउने विद्यार्थीमध्ये अधिकांश व्यवस्थापनमा छन् । ३५० हाराहारी विद्यार्थी भर्ना भएकोमा दुई सयभन्दा बढी व्यवस्थापनमा छन् भने शिक्षाशास्त्र र मानविकी संकायमा संख्या न्यून छ ।
बाफलमा रहेको ज्ञानोदय माविमा विज्ञानमा दुई सय, व्यवस्थापनमा पाँच सय र कम्प्युटर इन्जिनियरिङमा ४२ जना विद्यार्थी भर्ना भइसके । यहाँ शिक्षाशास्त्र र मानविकीमा विद्यार्थी नै छैनन् । पढाइ पनि बन्द छ । ललितपुरको जावलाखेलमा रहेको डिएभी स्कुलमा कक्षा ११ मा विज्ञान संकायमा पाँच सय विद्यार्थी भर्ना भएका छन् । व्यवस्थापनमा तीन सय विद्यार्थी छन् । यहाँ मानविकी र शिक्षाशास्त्रको कार्यक्रम नै सञ्चालन हुँदैन ।
भक्तपुर च्यामासिंहमा रहेको बागिश्वरीमा माविमा कक्षा ११ मा चार सयभन्दा बढी विद्यार्थी भर्ना भएकोमा दुई सयभन्दा धेरै विद्यार्थी व्यवस्थापनमा छन् । एक सय विद्यार्थी विज्ञान विषयमा छन् भने मानविकीमा ६५ र शिक्षाशास्त्रमा ४० जना मात्रै विद्यार्थी भर्ना भएका छन् । विदेश जाने मोहले होटेल म्यानेजमेन्टमा आकर्षण बढेको कक्षा ११ र १२ का इन्चार्ज ज्ञानसागर प्रजापतिले बताए । ‘अहिले विदेश जानेको संख्या बढ्यो, त्यसैले उनीहरू होटेल म्यानेजमेन्टतिर बढी आकर्षित छन्,’ उनले भने, ‘विदेशमा होटेलमा काम पाइन्छ भन्ने सोचले धेरैले होटेल म्यानेजमेन्ट पढ्छन् ।’
रुपन्देहीको बुटवलमा रहेको कालिका मानविज्ञान माविमा एक हजार विद्यार्थी व्यवस्थापन संकायमा भर्ना सइसके । विद्यार्थीको चाप बढेपछि विद्यालयले यो संकायमा भर्ना नै बन्द गर्यो । विद्यालयमा विज्ञान संकायमा १५ सयले प्रवेश परीक्षा दिएकोमा पाँच सयले नाम निकालेका छन् । कालिकामा पनि मानविकी र शिक्षाशास्त्रमा विद्यार्थीको संख्या कम छ । मानविकीमा ४० जना र शिक्षाशास्त्रमा १५० जना विद्यार्थी भर्ना भएको प्रधानाध्यापक दिनेश थापाले बताए । उनका अनुसार सबैभन्दा बढी व्यवस्थापन संकायमै विद्यार्थी छन् ।
शिक्षाविद् विद्यानाथ कोइरालाले विद्यार्थीहरू जहाँनिर जागिर छ त्यही विषय पढ्न आउने गरेको बताए । शिक्षा र मानविकीमा विद्यार्थीलाई यी विषयमा यस्तो अवसर छ भनेर देखाउन वा भन्न नसक्नु कमजोर रहेको उनको भनाइ छ । ‘विद्यार्थीले जहाँनिर जागिर छ त्यही विषय हेर्छ । १० वर्षअघि विद्यार्थीले समाजशास्त्र रोजेको देखिन्थ्यो । एकताका शिक्षाशास्त्रमा त्यस्तै थियो, अहिले व्यवस्थापन, कानुन र विज्ञानमा विद्यार्थीको चाप देखिन्छ,’ उनले भने, ‘मानविकी पनि विज्ञान हो, यो संकायलाई अर्थ, समाज, प्रशासनसँग जोड्न सकिन्छ । तर, बहुढंगबाट जोड्न र बुझाउन सकिएन । शिक्षाशास्त्रमा पनि त्यही समस्या हो, अहिले विदेश जाने क्रम बढेकाले धेरैले व्यवस्थापन रोजेको पाइन्छ ।’ उनले शिक्षक बन्नलाई शिक्षाशास्त्र नै पढ्नुपर्ने अवस्थाभन्दा पनि यसमा बहुअवसर छ भनेर देखाउन आवश्यक रहेको बताए ।