माओवादी नै शान्ति प्रक्रियाको आरम्भकर्ता : प्रचण्ड

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रियाको प्रारम्भिक सुरुवातकर्ता माओवादी नै रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा टिआरसी विधेयकमाथिको छलफलका क्रममा प्रचण्डले यस्तो बताएका हुन्।

‘नेपालको शान्ति प्रक्रिया तत्कालीन नेकपा माओवादीले ०६१ सालको अन्ततिरबाट सुरु गरेको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले ०६१ माघमा निर्वाचित सरकारलाई अपदस्थ गरी शक्ति हत्याएपछि हामीले त्यो अधिनायकवादी कदमलाई शान्ति स्थापनाको अवसरको रूपमा सदुपयोग गर्ने निर्णय गर्याैँ । माघ ०६१ मा सेनाको सहयोगमा ज्ञानेन्द्रले मूल धारका दलहरूलाई समेत प्रतिबन्ध लगाएपछि मात्र तत्कालीन सातदलीय गठबन्धन माओवादी पार्टीसँग गठबन्धन गर्न तयार हुने वातावरण बनेको ऐतिहासिक तथ्य हामी सबैलाई थाहा छ । यस अर्थमा माओवादी पार्टी नै नेपालको शान्ति प्रक्रियाको प्रारम्भिक आरम्भकर्ता हो भन्न द्विविधा मान्नुपर्ने कहीँ ठाउँ छ भन्ने मलाई लाग्दैन,’ उनले भने ।

संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक पारित हुने क्रममा रहेको प्रसंगमा उनले शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको बताए। यसले परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको यात्रामा अघि बढ्ने अझै धेरै अवसर मिल्ने उनको भनाइ थियो ।

सुझावित समाचार