बारामा १३ वर्षीया बालिकालाई दुई पुरुषले गरे बलात्कार

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

निजगढस्थित सामुदायिक अस्पतालमा बालिकाकाे शारीरिक परीक्षण गर्दा बालिकामाथि बलात्कार भएको अस्पतालकाे भनाइ

बाराको निजगढ नगरपालिका- ५ मा एक बालिकामाथि दुईजना पुरुषले बलात्कार गरेका छन् । स्थानीय विद्यालयमा अध्ययन गर्ने १३ वर्षीया बालिकाले आफूलाई नचिनेका दुईजना मानिसले बलात्कार गरेको परिवारसँग बताएपछि इलाका प्रहरी कार्यालय निजगढले बालिकाको शारीरिक परीक्षण गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले निजगढस्थित सामुदायिक अस्पतालमा बालिकाकाे शारीरिक परीक्षण गर्दा उनीमाथि बलात्कार पुष्टि भएको अस्पतालका चिकित्सकहरूले जानकारी दिएको बताए ।

थप परीक्षणका लागि बालिकालाई प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरी निरीक्षक कुशवाहाले बताए । कलैया अस्पतालबाट स्वास्थ्य परीक्षणको पूर्ण रिपोर्ट आएपछि घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएकाे आशंकामा एक पक्राउ

बालिकाले दिएको हुलियाको आधारमा घटनामा संलग्न भएकाे आशंकामा एकजनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । फरार रहेकाको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिए । पक्राउ परेका व्यक्तिको प्रहरीले पहिचान  खुलाएको छैन । 

मंगलबार विद्यालयबाट घर जाने क्रममा मोटरसाइकलमा आएका दुईजना नचिनेका मानिसले केही पैसा र मिठाई दिएर आफूमाथि जबर्जस्ती करणी गरेको बालिकाले अभिभावक र आफन्तलाई बताएकी थिइन् । घटना थाहा पाएलगत्तै अभिभावक र आफन्त प्रहरीकाेमा पुगेका थिए ।

सुझावित समाचार