आम्दानी बढाउने विकासे स्याउखेतीमा मनाङका किसान

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

हिमाली जिल्ला मनाङका किसान विकासे स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन गरेका मनाङका किसान स्याउखेतीमा आकर्षित भएका हुन् ।

मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका– ८ ताचैका सोलबहादुर गुरुङका परिवारले परम्परागत खेती गर्दै आएका थिए । उत्पादन वृद्धि गर्ने उद्देश्यले अहिले विकासे (हाइब्रिड) स्याउखेतीतर्फ लागेका हुन् । मनाङमा अधिकांश कृषकले यस प्रविधिको स्याउ खेतीलाई अनुसरण गर्दै गएको कृषि ज्ञान केन्द्र मनाङले जनाएको छ । 

उत्पादन वृद्धि हुँदा आयस्तरमा बढ्ने भएकाले किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन् । मनाङको तल्लो भेगदेखि माथिल्लो भेगसम्म यस प्रविधिको स्याउखेती विस्तार भइरहेको छ । कृषि ज्ञान केन्द्र मनाङको तथ्यांकअनुसार १३ हजारभन्दा बढी क्षेत्रफलमा यो प्रविधिको स्याउखेती विस्तार भएको छ । मनाङमा उत्पादित स्याउ लमजुङको बेँसीसहर हुँदै पोखरा, चितवन, काठमाडौंदेखि अन्तर्राष्ट्रिय बजारसम्म निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

परम्परागत स्याउखेतीलाई परिष्कृत गर्दै आम्दानी बढाउन हाइब्रिड स्याउखेती गर्न थालिएको छ । परम्परागत खेतीबाट मिहिनेतअनुसारको आयआर्जन नभएपछि अहिले मनाङका किसानले विकासे स्याउखेती गर्न थालेका हुन् । सुरुवातमा एग्रो मनाङले चार रोपनी क्षेत्रफलमा उच्च प्रविधिको ‘हाई डेन्सिटी एप्पल खेती गरेको थियो ।  

फर्मले सुरुवातमा इटाली र सर्बियाबाट ल्याएको धेरै फल दिने फुजी, गाला, गोल्डेन र रेड डिलिसिस जातका स्याउखेती विस्तार गर्दै गएको छ । ६ वर्षअघि विस्तार गरेको स्याउखेतीबाट अहिले फल दिन थालेको यो चौथो वर्ष हो । यो प्रजातिको स्याउको बोटले दुई वर्षदेखि नै दिन थालेको र प्रत्येक वर्ष उत्पादन बढ्दै जाने भएकाले पनि यो प्रजातिको स्याउखेतीतर्फ किसान आकर्षित भएका छन् ।

See More On

सुझावित समाचार