अरक्षण प्रणालीको खारेजीको माग गर्दै बंगलादेशमा भइरहेको आन्दोलन र त्यसले निम्त्याएको राजनीतिक उत्तारचढावको असर नेपाल–बंगलादेश व्यापारमा देखिएको छ । आन्दोलन सुरु भएदेखि नै नेपाल, भारत र भुटानसँग व्यापार गर्ने बंगलादेशको नाका गलाबन्ध खुल्ने र बन्द हुने क्रम जारी छ ।
आइतबारबाट नेपाल–बंगलादेशबीचको व्यापार ठप्प भएको बंगलादेशको व्यापारमा सहजीकरण गर्दै आएको पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका काँकडभिट्टा कार्यालयका प्रमुख सुवास पाण्डेले बताए । ‘केही दिन खुलेको थियो । फेरि आइतबारबाट बन्द भएको छ । अहिले नेपाल–बंगलादेश व्यापार ठप्प छ,’ उनले भने, ‘हामी त्यो नाकामा मंगलबार मात्र पुगेर आयौँ । नाका सुनसान छ । भारततर्फको फूलबारी नाकामा केही भुटानका गाडीहरू पार्किङ गरिएका छन् ।’
बंगलादेशसँगको नाका बन्द भएर खुलेपछि नेपालबाट उखुको खुदो बोकेर गएका तीनवटा नेपाली गाडी बंगलाबन्ध नाकामा अड्किएको प्रमुख पाण्डेले बताए । यस्तै, नेपाल आउने ६ वटा बंगलादेशी गाडी पनि बंगलाबन्ध नाकामा रोकिएको उनले बताए । नेपालबाट उखुको खुदो लोड गरेर बंगलादेश हिँडेका ११ वटा गाडी मेची भन्सार कार्यालय काँकडभिट्टामा थन्किएका छन् । ‘बंगलादेशमा सामान लिएर गएका गाडी र त्यसमा गएका नेपाली सुरक्षित छन्,’ उनले भने, ‘बंगलादेशमा उत्पन्न तनावले व्यापार प्रभावित बनेको छ । तर, केही दिनमा समस्या समाधान हुनेमा आशावादी छौँ ।’ व्यापार ठप्प हुँदा उद्योगी–व्यवसायीलाई समस्या भएको उनले बताए ।
नेपाल–बंगलादेशको व्यापार ठप्प हुँदा त्यसको मर्का आयात–निर्यातमा संलग्न व्यवसायीलाई परेको क्लियरिङ एजेन्ट नवीन दाहालले बताए । ‘व्यापार ठप्प हुँदा त आयात–निर्यातमा संलग्न साथीहरूलाई मर्का परेको छ । नाका र भन्सारमा रोकिएका सवारीको दैनिक भाडा करिब तीन हजार पाँच सयदेखि चार हजारसम्म बुझाउनुपरेको छ । भन्सारमा पार्किङ शुल्क पनि तिर्नुपर्छ,’ उनले भने, ‘नाका बन्द हुँदा लोड गरेको सामान पनि अनलोड गर्नुपरेको छ । कति समय हुने हो, टुंगो छैन ।’
नेपालबाट बंगलादेशमा वार्षिक करिब ५० करोडको सामग्री जाने गरेको छ भने बंगलादेशबाट करिब चार अर्बको सामग्री आउने गरेको छ । आर्थिक वर्ष ०८०÷८१ को तथ्यांक हेर्ने हो भने नेपालबाट ४६ करोड ३१ लाखबराबरको सामग्री निर्यात भएको छ भने बंगलादेशबाट तीन अर्ब ८३ करोड ६८ लाखबराबरको आयात भएको छ । बंगलादेशबाट ब्याट्री, खाद्यान्न, औषधिलगायत २० प्रकारका सामग्री आयात हुन्छन् भने नेपालबाट जडीबुटी, च्यावनप्रास, मुसुरोको दाललगायत ६ प्रकारका सामग्री निर्यात हुने गरेका छन् ।
बंगलादेशको आन्तरिक कारणले व्यापार ठप्प हुँदा मेची भन्सारको राजस्व असुलीमा पनि प्रभाव परेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले बताए । ‘यो अवस्था लामो समय नरहला । त्यसले गर्दा दीर्घकालीनभन्दा पनि तत्कालीन असर छ । नयाँ आर्थिक वर्ष लागेदेखि नै बंगलादेशसँगको व्यापारमा समस्या छ,’ उनले भने, ‘बंगलादेशसँग व्यापार ठप्प हुँदा साउन महिनाको राजस्व संकलनको लक्ष्यमा करिब १० प्रतिशत कमी हुन सक्छ ।’