नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले संसदीय दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको छ।
भर्खरै सम्पन्न दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको कांग्रेसका प्रदेश महामन्त्रीसमेत रहेका सांसद मेघराज खड्काले जानकारी दिए।
शाह एमालेको समर्थनमा दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ। दुवै दलका सांसदहरू प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न गएका छन्।
शाहले यसअघि करिब १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए। केन्द्रमा एमाले–माओवादीसहितको गठबन्धन बनेपछि अलपमतमा परेका उनले गत चैत २२ चैत राजीनामा दिएका थिए।
५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका १८ र एमालेका ११ सांसद छन्।
कांग्रेस–एमालेको गठबन्धन बनेसँगै अल्पमतमा परेका एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गत शुक्रबार राजीनामा दिएका थिए।