मन्त्री दाहालद्वारा बनेपाको डुबान क्षेत्र अवलोकन

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको आज अवलोकन गरेका छन् । उनले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको राजमार्ग निरीक्षणका क्रममा डुबान क्षेत्रको अवलोकन गरी समस्याबारे स्थानीयसँग जानकारी लिएका हुन् । 

मन्त्री दाहाललाई बनेपा नगरपालिका– १० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जित, सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दीबास सडक आयोजना कार्यालयका प्रतिनिधिलगायत स्थानीयले वर्षाको समयमा पुण्यमाता खोलाको बाढीका कारण पुग्ने क्षतिबारे जानकारी गराएका थिए ।

गत मंगलबार रातिको वर्षाले पुलबजार क्षेत्रका करिब ४० घर डुबानमा परेका थिए । बस्ती बढ्दा खोला साँधुरिएपछि केही वर्षदेखि उक्त खोलामा आउने बाढीले अरनिको राजमार्गसमेत अवरुद्ध हुँदै आएको छ । 

डुबान क्षेत्र अनुगमनका क्रममा मन्त्री दाहालले सडक डिभिजन कार्यालय भक्तपुरसँग समन्वय गरी डुबानमुक्त हुने तवरले निर्माणमा ध्यान दिइने बताए । उनले भने, ‘यस क्षेत्रलाई डुबानमुक्त बनाउन के गर्न सकिन्छ, सरोकारवाला निकाय र प्राविधिक छलफल गरी अघि बढ्नेछौँ ।’ उनले यहाँको समस्याबारे स्थानीय तहका जनप्रतिनिधिसँग थप छलफल गरी निकास खोजिने बताए । 

मन्त्री दाहालले निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म दुई चरणमा निर्माण थालिएको उक्त सडक अवलोकन गरेका छन् ।  मन्त्री दाहालले उक्त सडक विस्तारका क्रममा भएका प्रगति, समस्या तथा आगामी योजनामा सरकारको तर्फबाट गर्नुपर्ने कार्य विवरणबारे पनि जानकारी लिएका छन् । 

उनलाई सम्बन्धित निकायका प्रतिनिधिले साँगा क्षेत्रको निर्माण र त्यसले पारिरहेको प्रभाव, साँगादेखि बनेपा खण्ड निर्माण र स्थानीयले गरेको अवरोध, मुआब्जा वितरणलगायत सडकका अन्य समस्याबारे जानकारी गराएका थिए ।

सुझावित समाचार