समितिमा रहेका विधेयक टुंगो लगाउन सभामुखको निर्देशन

बिहिबार, १७ साउन, २०८१
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयक छिटो टुंगो लगाउन निर्देशन दिएका छन् । संसद् बिजनेसविहीन भएपछि सभामुखले बुधबार समिति सभापतिहरूलाई आफ्नै कार्यकक्षमा बोलाएर समितिमा विचाराधीन रहेका विधेयक टुंगोमा पुर्याउन विशेष तदारुकता देखाउन भनेका हुन् । 

‘संसद् प्रभावकारी बनाउन संसदीय समिति सक्रियतामा निर्भर रहन्छ । संसदीय समितिको सक्रियता सभापतिको भूमिकामा निर्भर छ,’ घिमिरेले भने, ‘अहिले संसद्मा विधेयक छैन । त्यो भनेको खास बिजनेस छैन । बिजनेस नभएपछि संसद् चलाउन सकिँदैन । संसद्लाई बिजनेस दिने वातावरण तयार गर्नहोस् ।’ समिति सञ्चालनका लागि आवाश्यक पूर्वाधार, व्यवस्थापकीय सहयोग गर्न संसद् सचिवालय तयार रहेको उनको भनाइ थियो । 

राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले भने, ‘तीन दिन संसद्, तीन दिन समितिको बैठक सञ्चालन गर्ने पूर्वनिर्णय प्रभावकारी हुन सकेन । संसद् सकिनेबित्तिकै सांसदहरू गृहजिल्ला जाने हुँदा समितिको बैठक बस्न सकेन । अब एक दिन संसद्, एक दिन समिति चलाउने व्यवस्था मिलाउनुपर्यो ।’ कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुंगोमा लाग्ने तयारी रहेको जानकारी गराइन् । बैठकमा सभापतिहरू खतिवडा, सुवेदी, अम्मर थापा, अब्दुल खान, किरणकुमार साह, दीपकबहादुर सिंह सहभागी थिए ।

See More On

सुझावित समाचार