त्रिभुवन विश्वविद्यालयले २६ अर्ब १६ करोड रुपैयाँबराबरको बजेट पास गरेको छ। मंगलबार बसेको त्रिविसभा बैठकले शैक्षिक सत्र ०८१/८२ का लागि २६ अर्ब १६ करोड ८७ लाख ३५ हजारको बजेट पास गरेको हो।
प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी ओलीको उपस्थितिमा त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पेस गरेको बजेट सभाले पास गरेको हो।
शैक्षिक सत्र ०८१/८२ का लागि त्रिविले नियमित कार्यक्रमतर्फ चालू र पुँजीगत रूपमा १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजारको अनुमान गरेको छ। आन्तरिकतर्फ चालू र पुँजीगत गरी ११ अर्ब ३९ करोड ८९ लाख तथा विकास कार्यक्रममा एक अर्ब ५ करोड छुट्याएको छ।
नियमित कार्यक्रममा हुने कुल खर्च १३ अर्ब ७१ करोड ९७ लाख ७८ हजारमध्ये केन्द्रीय आम्दानीबाट एक अर्ब ५७ करोड ६१ लाख ७० हजार बजेट व्यवस्थापन हुनेछ। बाँकी १२ अर्ब १४ करोड ३६ लाख १७ हजार विश्वविद्यालय अनुदान आयोगमार्फत सरकारसँग अनुदान माग गरिनेछ।
त्रिविले चालू खर्चका लागि अनुदान रकम ११ अर्ब ३२ करोड ४३ लाख ४१ हजार रकम छुट्याएको छ। तर, उक्त रकमको अवस्था हेर्दा चालू वर्षमा नियमिततर्फ ८१ करोड ९२ लाख ७६ हजार न्यून हुने देखिन्छ। यदि केन्द्र सरकारले यो रकम नदिएमा प्राज्ञिक र अनुसन्धानात्मक क्रियाकलापमा छुट्याएको बजेट कटौती गरिनेछ। त्रिविले प्राज्ञिक र अनुसन्धानात्मक क्रियाकलापको बजेट छुट्याउँदा शैक्षिक प्रणालीमा असर पर्ने भन्दै प्रधानमन्त्रीसँग सो रकम व्यवस्था गरिदिन अनुरोध गरेको छ।
शैक्षिक सत्र ०८१/८२ मा तालिम, गोष्ठी, सेमिनारलगायत कार्यक्रमका लागि १३ करोड ३६ लाख ७७ हजार बजेट छुट्याइएको छ। अनुसन्धान तथा विकासतर्फ ५१ करोड ७४ लाख ६० हजार बजेट छुट्याइएको छ।