सचिवहरूसँग प्रधानमन्त्रीले लिए ६ घण्टा ब्रिफिङ : भोलि निर्देशन दिने

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले सरकारका सचिवहरूसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले पहिलोपटक आइतबार सिंहदरबारमा मन्त्री र सचिवहरूको संयुक्त बैठक राखेर ब्रिफिङ लिएका हुन् । बिहान साढे ११ देखि सुरु भएको बैठक साँझ साढे ५ बजेसम्म चलेको थियो । 

प्रधानमन्त्रीका निजी सचिव विनोदबहादुर कुँवरका अनुसार बैठकमा सरकारका सबै मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । मन्त्री र सचिवहरूले छुट्टाछुट्टै रूपमा प्रधानमन्त्रीसँग मातहतका मन्त्रालय तथा कार्यालयका गतिविधिबारे जानकारी गराए । प्रधानमन्त्रीले मन्त्रालय तथा कार्यालयका कार्यक्रम, प्राथमिकता र कार्यसम्पादनबारे पनि चासो राखेका थिए ।

प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्करले सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएको जानकारी दिए । बैठकमा सहभागी एक मन्त्रीका अनुसार सचिवहरूले निर्माण व्यवसायीको भुक्तानीको समस्यादेखि संविधानसँग बाझिएका कानुनहरू तत्काल संशोधन परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए । 

‘आज बिहान करिब साढे ११ बजेदेखि साढे ५ बजेसम्म ६ घण्टा सबै मन्त्रालयका सचिवज्यूहरूको ब्रिफिङ सुनेँ । नागरिकलाई छिटो सेवाप्रवाह र विकासका कामलाई अगाडि बढाउन के–के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवज्यूहरूले आ–आफ्ना मन्त्रालयको स्थितिबारे विस्तृतमा खुलेरै कुरा राख्नुभयो,’ प्रधानमन्त्री ओलीले आइतबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘भनिन्छ– समस्याको सही पहिचान नै आधा समाधान हो । अब भोलिको एक दिन हामीले सोच्ने समय लिएका छौँ र मंगलबार फेरि छलफल गरेर काम अगाडि बढाउने विषयमा निर्णय लिन्छौँ ।’

सचिवहरूबाट ब्रिफिङ सुनेपछि मंगलबार प्रधानमन्त्री ओलीले निर्देशन दिने तय भएको छ । प्रधानमन्त्रीको निर्देशनअनुसार चालू आर्थिक वर्षको काम अघि बढाउने सरकारको योजना रहेको सचिव सिंहले बताए ।

सुझावित समाचार