चार सय ३९ उद्योगमार्फत पौने पाँच खर्ब लगानी प्रतिबद्धता

गत आवमा ९१ अर्बले बढ्यो लगानी प्रतिबद्धता, तर साना तथा मझौला उद्योग–व्यवसायमा भने लगानीको प्रतिबद्धता घट्यो

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण

गत आर्थिक वर्ष ०८०/८१ मा लगानी प्रतिबद्धता २३.८२ प्रतिशतले बढेको छ । एक वर्षको अवधिमा विभिन्न क्षेत्रका चार सय ३९ उद्योग–परियोजनामार्फत पौने पाँच खर्बको लगानीको प्रतिबद्धता प्राप्त भएको हो । 

यो लगानी प्रतिबद्धता अघिल्लो आर्थिक वर्ष ०७९/८० को तुलनामा ९१ अर्बले बढी हो । सो वर्ष तीन खर्ब ८१ अर्ब ९८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । गत वर्ष लगानी प्रतिबद्धता मात्र होइन, उद्योग दर्ता संख्यासमेत बढेको छ । उद्योग विभागका अनुसार आव ०७९/८० मा विभिन्न क्षेत्रका तीन सय २८ उद्योग दर्ता भएकामा गत आवमा बढेर चार सय ३३ उद्योग दर्ता भएका छन् । लगानी बोर्डको कार्यालयले अघिल्लो आवमा पाँचवटा परियोजनाको लगानी स्वीकृत गरेकोमा गत आवमा नौ परियोजनाको लगानी स्वीकृत गरेको जनाएको छ । 

गत वर्ष ठूला उद्योगहरूमा स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता बढेको, तर स्वदेशी लगानी हुने साना तथा मझौला उद्योग–व्यवसायमा लगानी प्रतिबद्धता घटेको देखिन्छ । गत आवमा उद्योग विभागमा उद्योगको दर्ता बढे पनि लगानी प्रतिबद्धता ६ प्रतिशतभन्दा बढीले घटेको छ । नेपालमा उद्योग विभाग र लगानी बोर्डले स्वदेशी तथा विदेशी लगानी स्वीकृत गर्दै आइरहेका छन् । ६ अर्ब रुपैयाँभन्दा माथिका उद्योग–परियोजनामा बोर्डले लगानी स्वीकृत गरे पनि दर्ता भने उद्योग विभागमै गर्नुपर्ने हुन्छ ।

गत आर्थिक वर्षमा उद्योग विभागमा दर्ता भएका चार सय ३० उद्योगमार्फत दुई खर्ब एक अर्ब ७१ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । यस्तै, लगानी बोर्डबाट स्वीकृति पाएका नौ उद्योग–परियोजनाले दुई खर्ब ७१ अर्ब २८ करोड रुपैयाँ लगानीको प्रतिबद्धता गरेका छन् । जसमध्ये हुवासिन सिमेन्ट उद्योगले ६ अर्ब ६३ करोड रुपैयाँ लगानी थप्ने स्वीकृति पाएको हो । चिनियाँ सिमेन्ट जायन्ट हुवासिनको लगानी रहेको यो उद्योग धादिङमा सञ्चालनमा छ । 

आव ०७९/८० मा उद्योग विभागमा दर्ता भएका तीन सय २३ उद्योगमार्फत दुई खर्ब १४ अर्ब ३८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । यस्तै, लगानी बोर्डमार्फत पाँचवटा जलविद्युत् परियोजनामा एक खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । जसमध्ये एक अर्ब ४६ अर्ब २२ करोड रुपैयाँ वैदेशिक लगानी र २१ अर्ब ३७ करोड रुपैयाँ स्वदेशी रहेको लगानी बोर्डले जनाएको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता संख्यासमेत उल्लेख्य बढेका छन् ।

कुन क्षेत्रमा कति लगानी प्रतिबद्धता ?
गत आर्थिक वर्षमा पनि सबैभन्दा धेरै लगानी प्रतिबद्धता ऊर्जामूलक परियोजनामा आएको छ । एक वर्षमा ऊर्जामूलक परियोजनामा तीन खर्ब ५३ अर्ब ५२ करोड लगानी स्वीकृत भएको विभाग र बोर्डको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षमा ऊर्जा क्षेत्रमा दुई खर्ब ८० अर्ब २७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । यस्तै, गत वर्ष कृषि तथा वन क्षेत्रमा एक अर्ब ९० करोड, सूचना तथा सञ्चार क्षेत्रमा एक अर्ब २१ करोड, पूर्वाधार क्षेत्रमा तीन अर्ब ४० करोड, उत्पादनमूलक उद्योगमा ४३ अर्ब ४४ करोड, खानीजन्य उद्योगमा ३० करोड ६३ लाख, सेवामूलक क्षेत्रमा ३७ अर्ब २० करोड र पर्यटन क्षेत्रमा ३१ अर्ब ७० करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ ।

लगानी बोर्डबाट स्वीकृत लगानी
गत आर्थिक वर्षमा लगानी बोर्डले एउटा सिमेन्ट उद्योग र आठवटा जलविद्युत् आयोजनाको लगानी स्वीकृत गरेको छ । गत वर्ष हुवासिन सिमेन्टको ६ अर्ब ६३ करोड ४० लाख, सुपर तमोरको ३४ अर्ब ५९ करोड, अपर मोदीको १० अर्ब नौ करोड, सौर्य ऊर्जाको २१ अर्ब ११ करोड, रोल्वालिङ हाइड्रोको सात अर्ब ९३ करोड, छुजुङको नौ अर्ब ३० करोड, दाना हाइड्रोको नौ अर्ब ६८ करोड, सानी भेरीको नौ अर्ब ४५ करोड, माथिल्लो कर्णालीको एक खर्ब ६२ अर्ब ४९ करोड रुपैयाँ लगानी स्वीकृत भएको लगानी बोर्डले जनाएको छ ।

विभागमा दर्ता भएका ठूला उद्योग
गत वर्ष विभिन्न ठूला जलविद्युत् परियोजनामा तीन खर्ब ५४ अर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । जसमध्ये ठूला परियोजनाको लगानी बोर्डबाट स्वीकृत भएको छ । गत वर्ष जलविद्युत् परियोजनाबाहेक ठूलो लगानी होटेल बुद्धस्टार (रुपन्देही) एक अर्ब ८५ करोड, वाटफोर्ड होटेल (पोखरा) एक अर्ब १७ करोड, पूर्वाञ्चल क्यान्सर हस्पिटल (झापा)मा दुई अर्ब ७९ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

ललितपुरबाट सेवा दिने गरी शतप्रतिशत विदेशी लगानी ६ अर्बमा सफ्टवेयर कम्पनी एमएबिसी इन्भेस्टमेन्ट ग्रुप दर्ता भएको छ । यस्तै, पाँच अर्ब ४४ करोड लगानीको चुनदेवी वेस्ट प्रोसेसिङ उद्योग, खानी क्षेत्रमा लगानी गर्ने गरी पाँच अर्बको एभरेस्ट लोट्टे कम्पनी, ग्वार्कोमा चार अर्ब ८१ करोड लगानीको द म्यासिफ होटेल, रुपन्देहीमा चार अर्ब ११ करोड लगानीको भेदा हस्पिटालिटी, नवलपरासीमा उद्योग खोल्ने गरी चार अर्ब सात करोड लगानीमा लिटमस उद्योग लिमिटेड युनिट वान उद्योग विभागमा दर्ता भएको छ । झापामा खुल्ने होटेल अट्रियममा दुई अर्ब ८४ करोड, बर्दियामा खुल्ने राजपुर सुगर एन्ड केमिकल उद्योगमा दुई अर्ब चार करोड, चितवनमा खुल्ने इच्छाकामना देवी केबुलकारमा दुई अर्ब एक करोड रुपैयाँ लगानीको प्रस्ताव छ ।

उद्योग विभागमा दर्ता भएका ठूला उद्योगहरूमा ललितपुरमा दुई अर्ब लगानीमा एक्सिस हस्पिटालिटी, वीरगन्जको नेसनल मेडिकल कलेज विस्तारमा एक अर्ब ९७ करोड, चितवनमा निर्माण भइरहेको रोयल टुलिप रिसोर्टमा एक अर्ब ५० करोड, दराज क्यामु प्रालिमा एक अर्ब ३७ करोड, कोसी एनके मोटर्समा एक अर्ब ३२ करोड, ग्लोबल इन्डस्ट्रियल पार्क (बाँके)मा एक अर्ब २९ करोड, क्वेस्ट फर्मास्युटिकल्स (भक्तपुर)मा एक अर्ब २८ करोड, एसियन फर्मास्युटिकल्स (रुपन्देही)मा एक अर्ब २६ करोड, पाथीभरा माता कारखाना (झापा)मा एक अर्ब १८ करोड, वाटफर्ड होटेल म्यानेजमेन्ट (कास्की)मा एक अर्ब १७ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको छ । सिमरा सेजभित्र निर्माण भइरहेको नेपोभिट सेरामिक टायलको कुल पुँजी एक अर्ब चार करोड रुपैयाँ रहेको उद्योग विभागले जनाएको छ । 

See More On

सुझावित समाचार