सल्यानमा एक वर्षमा ४६ किलोमिटर सडक कालोपत्रे

सोमबार, ७ साउन, २०८१
डिजिटल संस्करण

सल्यानमा गत आर्थिक वर्षमा ४६ किलोमिटर सडक कालोपत्रे भएको छ। आर्थिक वर्ष ०८०/८१ मा पूर्वाधार विकास कार्यालय सल्यानले १५ किलोमिटर र सडक डिभिजन कार्यालय दाङले ३१.५ किलोमिटर सडक कालोपत्रे गरेका हुन्।

बहुवर्षीय योजनाअन्तर्गत लुहाम–काभ्रा पाँच किलोमिटर, खलंगा–बालुवासंग्रही २.५ किलोमिटर, थारमारे–चौरपानी–वडागाउँ–चौरजहारी ७.५ किलोमिटर र सोलाबाङ–रिम एक किलोमिटर सडक कालोपत्रे भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी सागर आचार्यले जानकारी दिए।

यस्तै, सडक डिभिजन कार्यालय दाङले राप्ती राजमार्ग पुनर्स्थापना मर्मत नाै किलोमिटर, दमाचौर–गुराँसे ४४० मिटर, शंखमूल–छत्रेश्वरी मन्दिर १.१ किलोमिटर, थारमारे–रातपहरा १.१५ किलोमिटर, थारमारे बजार–क्याम्पस रोड २१० मिटर, श्रीनगर–खैरावाङ सडक २.२ किलोमिटर, खलंगा–सालचौर– कालीमाटी सडक ६.५ किलोमिटर, भेरी पुल ४६४ मिटर र आवधिक मर्मतअन्तर्गत सितलपाटी–खलंगा–जयतपानी १०.५ किलोमिटर सडक कालोपत्रे भएको छ।

कर्णाली प्रदेश सरकारका गौरवका आयोजनाअन्तर्गत मुख्य–मुख्य सडकहरू कालोपत्रे गर्ने कार्य भइरहेको पूर्वाधार विकास कार्यालय सल्यानका सूचना अधिकारी आर्चायले बताए। गत आ.व.मा कालोपत्रेको लक्ष्य बढी राखिएको भए तापनि वर्षा तथा ठेकेदार कम्पनीको ढिलासुस्तीले लक्ष्य पूरा गर्न नसकिएको उनको भनाइ छ।

सुझावित समाचार