बंगलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि त्यहाँ अध्ययनरत १२ सयभन्दा बढी विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशमा रहेका नेपाली विद्यार्थीको संख्या तीन हजार हो । तीमध्ये शनिबारसम्म आठ सय र आइतबार चार सय २० गरी १२ सय २० जना स्वदेश फर्किएका छन् । आइतबार विमान बंगलादेश र हिमालय एयरलाइन्समार्फत एक सय २० र काँकडभिट्टा हुँदै तीन सय पाँचजना फर्किएका हुन् ।
परराष्ट्रका अनुसार एक हजार सात सय विद्यार्थी दूतावासको सम्पर्कमा छन् । अन्य केही विद्यार्थी सम्पर्कमा आउने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ । यसबाहेक अन्य रोजगारको सिलसिलामा त्यहाँ पुगेका व्यक्तिहरूको तथ्यांक भने परराष्ट्रसँग छैन । आन्दोलन हिंसात्मक बन्दै जाँदा प्रशासनले जारी गरेको कफ्र्युपछि त्यहाँ रहेका नेपाली विद्यार्थीसमेत प्रभावित बनेका छन् ।
उनीहरू नेपाल फर्कन दूतावास तथा परराष्ट्र मन्त्रालयसँग सम्पर्क गरिरहेका छन् । कफ्र्युका कारण बाहिर निस्कने अवस्था नभएको र त्रासपूर्ण वातावरण रहेको भन्दै बंगलादेशस्थित नेपाल दूतावासले विद्यार्थीलाई आवास तथा होस्टेलमै बस्न आग्रह गरेको छ । नेपाल फर्कन चाहनेलाई सम्पर्कमा आउन दूतावासले आग्रह गरेको छ ।
फर्कनेमध्ये अधिकांश विद्यार्थी मेडिकल र कृषि शिक्षाका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कोही हवाई र कोही स्थलमार्गबाट स्वदेश फर्किरहेका छन् । नेपाल फर्कन चाहने विद्यार्थीका लागि परराष्ट्रले सीमावर्ती क्षेत्रबाट गाडीको प्रबन्ध मिलाएको जनाएको छ । होस्टेलमा रहेका विद्यार्थीसँग दूतावासमार्फत मन्त्रालयले सम्पर्क गरिरहेको छ ।
परराष्ट्र मन्त्रालयका सूचना अधिकारी ऋषिराज आचार्यका अनुसार आइतबार विमानमार्फत एक सय एकजना विद्यार्थी फर्किएका छन् भने काँकडभिट्टाबाट तीन सयभन्दा बढी विद्यार्थी नेपाल आइपुगेका छन् । ‘सबैजसो विद्यार्थी दूतावासको सम्पर्कमा हुनुहुन्छ । यदि कोही सम्पर्कमा हुनुहुन्न र समस्यामा हुनुहुन्छ भने हटलाइनमार्फत सम्पर्क गर्न सक्नुहुन्छ,’ उनले भने, ‘एयरपोर्ट तथा बसस्टपसम्म जान दूतावासले सहयोग गरिरहेको छ ।’ बंगलादेशबाट हिँडेका विद्यार्थीमध्ये कतिपय पूर्वी नाका हुँदै फर्किएका छन् । मेडिकल, कृषिलगायत प्राविधिक विषय अध्ययनका लागि गएका विद्यार्थी त्यहाँ बस्न सक्ने अवस्था नभएपछि सडकमार्ग प्रयोग गरेरै घर फर्किरहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार काँकडभिट्टा हुँदै फर्कने विद्यार्थी संख्या बढ्दो छ । हालसम्म काँकडभिट्टा नाका हुँदै आठ सयभन्दा बढी विद्यार्थी नेपाल फर्किसकेका छन् । सरकारले सडक तथा जहाज जुन मार्ग सहज हुन्छ, सोहीअनुसार स्वदेश फर्किन आग्रह गरेको छ ।
विद्यार्थीले हटलाइनमार्फत सम्पर्क गर्न सक्ने
शिक्षा मन्त्रालयले बंगलादेशमा रहेका विद्यार्थीलाई सहायता प्रदान गर्न हटलाइन सेवा सुरु गरेको छ । नेपाल पक्षसँग समन्वय तथा सम्पर्क गर्न, आफ्नो अवस्थाबारे जानकारी गराउन, आवश्यक सहायतालगायत प्रयोजनका लागि एकजना कर्मचारी नै तोकेर हटलाइन सेवा सुरु गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शाखा अधिकृत ईश्वरकुमार श्रेष्ठलाई समन्वय अधिकारीका रूपमा जिम्मेवारी तोकेको छ । उनले विद्यार्थीसँग सम्पर्क गर्ने, समन्वय गर्ने र आवश्यक सहयोगका लागि पहल गर्ने बताइएको छ । विद्यार्थीले ९८५११६०७८९ नम्बरमा फोन, ह्वाट्स एप, इमो, भाइबरलगायतमार्फत सम्पर्क गर्न सक्नेछन् । यो नम्बरमार्फत २४सै घण्टा गुनासा तथा समस्या राख्न सकिने मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लखे छ । त्यस्तै, परराष्ट्र मन्त्रालयले पनि अप्ठेरो परेमा सामाजिक सञ्जालमार्फत जानकारी गराउन विद्यार्थीलाई आहग्र गरेको छ । नेपाली दूतावासले विद्यार्थीलाई सहायता प्रदान गर्न दुईजना डेडिकेटेड कर्मचारी तोकेको परराष्ट्रले जनाएको छ ।
विद्यार्थी भन्छन्– जोेखिम अवस्थामा बस्न मन लागेन
मोरङ उर्लाबारीकी मोहिमा फागो चार दिनदेखि कलेजको होस्टेलमा थुनिएर बसेकी थिइन् । उनी एबबिबिएस अध्ययनका लागि गत जुनमा मात्रै ढाका पुगेकी हुन् । ढाका साभारमा रहेको इना मेडिकल कलेजमा एबबिबिएस पढ्ने नेपाली विद्यार्थी १७ जना छन् ।
कलेज प्रशासनले सबैलाई बाहिर ननिस्कन निर्देशन दिएको थियो । उनीहरू होस्टेलभित्र जे छ, त्यही पकाएर खाने र बस्ने गर्न थाले । बिहीबारदेखि त नेटवर्कले समेत काम गर्न छाड्यो । घरपरिवारसँग सम्पर्क टुट्यो । त्यसपछि थप आतुरी हुन थालेको र जेनतेन दूतावाससँगको सम्पर्कमा महँगो टिकट काटेरै भए पनि घर फर्किएको फागोले बताइन् ।
कफ्र्यु लागू भइरहेकाले विद्यार्थीलाई सुरक्षा दिएर विमानस्थलसम्म पुर्याइएको थियो । ‘हामी बसेको होस्टेलभन्दा बाहिर आन्दोलन चर्किएको थियो, गोली चलेको आवाज आइरहन्थ्यो, सडकमा हेर्दा रगताम्मे देखिन्थ्यो,’ उनले सुनाइन्, ‘कलेजको होस्टेल भएकाले हामी सुरक्षित नै थियौँ, तर नेटवर्क राम्ररी चल्न छाड्यो, बिजुली पनि काटिन्छ भन्ने सुन्न थाल्यौँ, त्यसपछि खाना केमा पकाउने भन्ने तनाव हुन थाल्यो, त्यसैले महँगो टिकट काटेर भएपछि फर्कियौँ ।’ सुर्खेतका सदीक्षा बस्नेत र मीना पौडेलले पनि आफूहरूलाई त्यहाँ बस्न निकै त्रासदी अवस्था भएकाले फर्किएको सुनाए । अवस्था अत्यन्तै जोखिम भएकाले नेपाल फर्किएको बस्नेतले सुनाइन् । ‘त्यहाँ निकै तनाव थियो, सुरक्षाको डर थियो, त्यसैले नेपाल फर्कियौँ,’ उनले भनिन् ‘सँगै बसेका अरू साथीहरू पनि फर्किनुभयो ।’
एक सातामा पूर्वी नाकाबाट ८२३ विद्यार्थी फर्किए
बंगलादेशमा सरकारी जागिरमा दिएको आरक्षण कटौतीको मागसहित भइरहेको आन्दोलनका कारण त्यहाँ पढ्न गएका नेपाली विद्यार्थी धमाधम फर्कन थालेका छन् । पूर्वी नाका काँकडभिट्टाबाट करिब ४५ किलोमिटरको दूरीमा रहेको बंगलादेशबाट नेपाली विद्यार्थी स्थलमार्ग हुँदै फर्कन थालेका हुन् ।
अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरूका अनुसार पूर्वी नाका हुँदै बंगलादेशबाट एक सातामा ८२३ नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । ३० असार शनिबारसम्म ५१८ र आइतबार एकै दिन ३०५ जना नेपाली विद्यार्थी काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किएको उनले बताए । ‘स्वदेश फर्कने अधिकांश मेडिकल विद्यार्थी छन् ।
आइतबार सबैभन्दा धेरै ३०५ विद्यार्थी नेपाल आए । नेपाल आउनेमा काठमाडौं र पश्चिमी क्षेत्रका धेरै छन्,’ उनले भने, ‘समूहमा आउँछन् । कलेजको बसले विद्यार्थी संकलन गरेर बंगलादेश र भारतको सीमासम्म ल्याइदिन्छ । त्यसपछि नेपालसम्म आउँछन् ।’ आन्दोलन हिंसात्मक बनेपछि बंगलादेश अध्ययनका लागि गएका विद्यार्थी सुरक्षित रहन स्वदेश फर्किरहेका छन् ।
ऋषिराज आचार्य, सूचना अधिकारी, परराष्ट्र मन्त्रालय
सबैजसो विद्यार्थी दूतावासको सम्पर्कमा हुनुहुन्छ । यदि कोही सम्पर्कमा हुनुहुन्न र समस्यामा हुनुहुन्छ भने हटलाइनमार्फत सम्पर्क गर्न सक्नुहुन्छ । एयरपोर्ट तथा बसस्टपसम्म जान दूतावासले सहयोग गरिरहेको छ ।