बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्। उनले दलहरूलाई साउन ८ गते साँझ ५ बजेसम्मका लागि दाबी पेस गर्ने समय दिएका छन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन्।

यसअघि प्रदेशप्रमुख शर्माले आइतबार दिउँसो मुख्यमन्त्री जम्कट्टेलले बुझाएको राजीनामा स्वीकृत गरेका थिए। मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको पहल थालिएको हो।

प्रदेशप्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलले दिएको राजीनामा स्वीकृत गर्दै अर्को सरकार गठन नहुन्जेल उनैलाई कामचलाउ मुख्यमन्त्रीको जिम्मेवारी तोकेका छन्।

यसैबीच, नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेले दाबी पेस गर्ने तयारी गरेका छन्। कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नेछ। कांग्रेसबाट बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा सरकार गठन गर्ने गरी उनीहरूले दाबीको तयारी गरेका छन्।

सुझावित समाचार