नबिल बैंक आजदेखि ४१ वर्षमा प्रवेश गर्दै छ । नेपालको निजी क्षेत्रको पहिलो बैंकका रूपमा समेत परिचित नबिल बैंक खासगरी आधुनिक सेवाका लागि ‘पायोनियर’ मानिन्छ । चालू आर्थिक वर्षको १० महिनामा सबैभन्दा धेरै नाफा आर्जन गरेको बैंकले आफूलाई ‘नम्बर एक’ बैंकका रूपमा दाबी गर्ने गरेको छ । बैंकको ४०औँ वार्षिकोत्सवको अवसरमा बैंकिङ क्षेत्रको वर्तमान अवस्था, नबिल बैंक र यसका सेवाका विषयमा केन्द्रित रही बैंकका सिइओ ज्ञानेन्द्रप्रसाद ढुंगानासँग गरिएको संवाद:
नबिल बैंक आजदेखि ४१ वर्षमा प्रवेश गरेको छ । बैंकको स्थापनादेखि हालसम्मको यात्रा कस्तो रह्यो ?
नबिल बैंक नेपालको निजी क्षेत्रतर्फको पहिलो बैंक हो । यसको स्थापना भएको ४० वर्ष पुगेको छ । यो बैंक स्थापना हुँदा अरब बैंकको नामबाट सञ्चालनमा थियो । त्यस समयमा बैंक भनेको सरकारी नै हुन्छ भन्ने थियो । तीनवटा सरकारी बैंकपछि चौथो बैंकका रूपमा आएको नबिल बैंकले आफ्नो कारोबार सुरु गर्दा धेरैलाई त्यसवेला निजी क्षेत्रको काम गर्ने शैली नै फरक हुन्छ भन्ने महसुस गरायो । यसले नेपालको बैंकको परिभाषा नै परिवर्तन गरिदियो ।
यो अवधिमा बैंकले धेरै बैंकिङ प्रणालीको विकास गरेको छ । नबिलको उच्च व्यवस्थापनको अन्तर्राष्ट्रिय अनुभव र नेपाल राष्ट्र बैंकको सहकार्यमा धेरै बैंकिङ अभ्यास परिवर्तन भएका छन् । अर्को पक्ष भनेको समग्र क्षेत्र डिजिटलाइजेसनतर्फ अघि बढेको छ । हामीले स्थापनादेखि नै डाटा कम्प्युटर सिस्टमबाट इन्ट्री गरेका थियौँ । हामी प्रविधिमा मात्रै होइन, दक्ष जनशक्तिको हिसाबमा पनि अगाडि थियौँ सुरुदेखि नै । हामीले अन्तर्राष्ट्रिय अभ्यास लिएर आएका थियौँ, जुन अन्य सरकारी बैंकहरूले समेत सिक्न पाए ।
अझै पनि रिक्स म्यानेजमेन्टमा हामी बजारभन्दा अलि माथि नै छौँ । नेपाल राष्ट्र बैंकले भर्खरै नेट एनपिएल सार्वजनिक गर्नुपर्ने नीति लियो । तर, त्योभन्दा अघिदेखि नै हामीले नेट र ग्रस दुवै सार्वजनिक गर्दै आएका थियौँ । पछिल्लो बैंकिङ क्षेत्रमा अधिक तरलता भएको छ । बजारमा मन्दी छ, लगानी बढ्न सकिरहेको छैन । दोस्रो कुरा, अधिकांश बैंकहरू पुँजीको चपेटामा थिए । यो गाँठो फुक्नुपर्छ भनेर नेपाल राष्ट्र बैंकमा अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा अघि बढ्नुपर्छ भन्ने हामीले नै अगुवाइ लिएर पहल गर्यौँ । पाँच महिनादेखिको पहलपछि केही दिनअघि मात्रै यसलाई आफ्नो नीतिमार्फत अघि बढायो । यो उपकरण इस्यु गर्न पाउने गरी राष्ट्र बैंकले लागू नै गरिसकेको छ । यो पछिल्लो उदाहरण हो ।
म पनि बैंकिङ क्षेत्रमा जोडिएको ३० वर्ष भयो । यो अवधिमा धेरै उतारचढावसमेत आए । विभिन्न चरणमा आर्थिक मन्दी आए । विश्वमा देखिएको प्रभाव नेपालमा पनि परिरहन्थ्यो । नेपालमा आन्दोलन भए, द्वन्द्व चल्यो, भूकम्प आयो, सीमाक्षेत्रमा बन्देज तथा कोभिडको महामारीसमेत आयो । हामीले यी सबै अवस्था पार गर्दै आजको दिनसम्म आइपुगेका हौँ ।
नबिललाई ‘अग्रणी’ बैंकका रूपमा परिचित गराउँदै आउनुभएको छ । यसका आधार के हुन् ?
नबिल बैंकले जहिल्यै दिगो र भरपर्दो सेवा दिनुपर्छ र बैंक क्षेत्र पारदर्शी हुनुपर्छ भन्ने सोचाइ राख्छ । त्यसमा हामी जहिल्यै पनि नम्बर वान नै छौँ । हामी आकारमा मात्रै होइन, सेवामै पनि सधैँ नम्बर वान रहेका छौँ । ग्राहकलाई दिने सेवा नै प्रमुख कुरा हो, हाम्रा काउन्टरमा आउनेबित्तिकै तुरुन्तै सेवा पाउने अवस्था छ, लाइन बस्नुपर्दैन । हामीले डिजिटल बैंकिङ प्रणालीलाई आत्मसात् गर्दै अघि बढेका छौँ ।
नबिल सबैभन्दा धेरै पुँजी भएको बैंकमध्येमा पर्छ । यो मात्रै यस्तो बैंक हो, जसले राइट सेयर, एफपिओ निष्कासन नगरीकन बोनस सेयर जारी गरेरै साढे २७ अर्बभन्दा बढीको चुक्ता पुँजी छ । हामीले युनाइटेड फाइनान्स र एनबी बैंकलाई मर्ज पनि गर्यौँ । यी दुई संस्थालाई जोड्नुको कारण पुँजी बढाउन मात्रै होइन, ती संस्थाको फरक क्षेत्रमा बिजनेस भएकाले विविध भौगोलिक स्थानमा पुग्ने र अन्य नयाँ बिजनेस बढाउन हो र यसमा पनि सफल भयौँ । र, यी दुई बैंक गाभिँदा बैंकको आकार पनि स्वतः ठूलो बन्यो ।
नबिल दुई–चार लाख रुपैयाँ कर्र्जा प्रदान गर्नेदेखि नौ सय मेगावाटको अरुण तेस्रो तथा तामाकोशी जलविद्युत् आयोजनामा समेत प्रत्यक्ष सहभागी छ । बैंकले पाँच खर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने चार खर्ब रुपैयाँ हाराहारीमा कर्जा प्रवाह गरेको छ । यो भनेको प्रत्यक्ष देखिएको तथ्यांक हो ।
अर्को विषय, कर्जा दिएर पुनर्कर्जासमेत प्रदान गरिएको हुन्छ । कतिले ऋण तिरिसकेका हुन्छन् । उनीहरूले तिरेको ऋण पुनः अर्कोलाई लगानी गर्छौँ । यसलाई हेर्दा १० खर्ब हाराहारी पुग्छ । नेपालको अर्थतन्त्रमा नबिल बैंकले पनि महत्वपूर्ण हिस्सा लिएको छ । अहिले चार हजार कर्मचारीलाई रोजगारी दिएका छौँ । हामीले प्रवाह गरेको कर्जाअनुसार अर्थात् साना तथा घरेलु उद्योगीलाई समेत गणना गर्ने र कुल कर्जा लगानी नै जोड्ने हो भने एक लाखभन्दा बढीले रोजगारी पाएका छन् ।
चार दशकको इतिहास बोकेको यस बैंकका लगानीकर्ताले के पाए ?
नबिलमा लगानी गर्ने लगानीकर्ताले राम्रो प्रतिफल पाएका छन् । सुरुमा लगानी गर्नेले त एक रुपैयाँको १० हजार रुपैयाँ बनाइसकेका छन् । यो बैंकले कुनै समय शतप्रतिशतसम्म पनि लाभांश वितरण गरेको छ । त्यस्तै, लामो समय लगानीकर्तालाई प्रतिफल दिनेमा समेत यही बैंक अगाडि छ । राष्ट्र बैंकले गरेको नीति–नियमको कडाइले भने नाफा र प्रतिफल प्रभावित भएको छ । केन्द्रीय बैंकले चुक्ता पुँजीको आकार दुई अर्बबाट सीधै आठ अर्ब रुपैयाँ बढायो । त्यसले पनि प्रतिफल वितरणमा केही कमी देखाएको छ ।
बैंकहरूको ब्याजदर र सेवा शुल्कका विषयमा ग्राहकले गुनासो गर्ने गरेका छन् नि !
स्ट्यान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकलाई छाड्ने हो भने नबिल बैंकको अहिले पनि ब्याजदर कम रहेको छ । डिजिटल बैंकिङमा पनि हामी धेरै अघि बढेका छौँ । धेरै नेपाली विदेशमा छन् । विदेशमा रहनेलाई समेत विदेशबाट खाता खोल्ने र उनीहरूलाई त्यहाँकै नम्बरमा एसएमएस जाने व्यवस्था मिलाउन लागेका छौँ । कार्डलाई पनि फिजिकल्ली बोक्नुनपर्ने व्यवस्था गर्दै छौँ । विदेशमा बैंकिङ क्षेत्रमा नयाँ प्रयोग आएको खण्डमा हामीले त्यसलाई छिटो लिने गरेका छौँ ।
आगामी योजना के छन् ?
हामीले पछिल्लो पाँचवर्षे रणनीतिक योजना तयार गरेर काम गरिरहेका छौँ । आफ्नो रणनीतिमा नेटवर्क बढाउने, बिजनेसको भोलुम बढाउने गरी नेपालभर सबै क्षेत्र र भूगोलमा पुग्ने र विभिन्न क्षेत्रलाई विविधीकरण गरेर सेवा प्रदान गर्ने गरी काम गरिरहेका छौँ । सन् २०२५ सम्म सबै क्षेत्रमा जाने र आफ्नो उपस्थिति जनाउने हाम्रो रणनीति नै थियो । लगभग हामीले त्यसलाई पार गरिसकेका छौँ । नेपालको बैंकिङ क्षेत्रलाई नै लिड गर्नमा हामी लागेका छौँ । परम्परागत बैंकिङबाट डिजिटल बैंकिङमा जान नबिल बैंकले नेतृत्व लिनुपर्छ भन्नेमा हामी थियौँ, त्यसमा महत्वपूर्ण भूमिका नबिल बैंकले खेलेको छ । त्यहीअनुसारको योजना बनाएर अगाडि बढेका छौँ । केन्द्रीय बैंकको नियम, देशको अर्थतन्त्र र जनताको चाहनालाई आत्मसात् गर्दै आगामी यात्रा गर्नेछौँ ।
संस्थागत सामाजिक उत्तरदायित्वतर्फ के–कस्ता काम गर्नुभएको छ ?
सिएसआरको कुरा गर्ने हो भने नबिल स्कुल अफ सोसल आन्टरपे्रनरसिप कार्यक्रममा हामीले सबैभन्दा धेरै खर्च गर्ने गरेका छौँ । फाट्टफुट्ट पैसा बाँडेर खर्च गर्नुभन्दा पनि समाजलाई पछिसम्म योगदान हुने क्षेत्रमा खर्च गरौँ भन्ने अवधारणासहित हामीले यो योजनामा खर्च बढाएका हौँ । देशका १३ ठाउँमा यो कार्यक्रम सञ्चालन गरेका छौँ । यसले कसरी उद्यमशील बन्ने भन्ने विषयको जानकारी दिने गर्छाैँ । बजारीकरण के हो ? बजारले कस्ता उत्पादन चाहिरहेको छ ? सरकारी नीति कस्ता छन् ? करका विषय कसरी पार गर्ने ? यी सबै विषय सिकाइरहेका छौँ । सीधै दुई–चार लाख रुपैयाँ पैसा दिँदाभन्दा यसरी सिकाएर उद्योगी बनाउँदा धेरै फाइदा हुन्छ भन्ने हाम्रो धारणा हो । हामीचाहिँ शिक्षामा, स्वास्थ्यमा लामो समय सकारात्मक प्रभाव पार्ने कुरालाई ध्यानमा राख्दै आएका छौँ ।