०७२ सालको भूकम्पले जीर्ण बनाएको भद्रकाली मन्दिरपरिसरको संरचना पुनर्निर्माण सुरु भएको छ। दक्षिण–पश्चिमतर्फका भवनबाट पुनर्निर्माण सुरु गरिएको हो।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बिहीबार जगपूजा तथा शिलान्यास गरेर पुनर्निर्माण थालनी गरेकी हुन्। यसको पुनर्निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ। नयाँ बन्ने भवनमा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछन्। छानो झिँगटीको हुनेछ। यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको छ।
पुनर्निर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्ने काम पुरातत्व विभागलाई दिइएको छ। अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकाली व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ। सम्पदा तथा पर्यटन विभागका अनुसार ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कबोल गर्ने तुल्सी अम्बुजा जेभीले पुनर्निर्माणको जिम्मा पाएको छ। निर्माण पक्षसँग गत ६ जेठमा सम्झौता गरी ३ असारमा कार्यादेश दिइएको छ।
शिलान्यासका क्रममा उपमेयर डंगोलले भद्रकाली मन्दिर सबै श्रद्धालुको आस्थाको देवता भएको उल्लेख गर्दै यसको प्राचीनता बचाए मात्रै सबैले गर्व गर्नलायक स्मारक हुने बताइन्। वडा ११ मा पर्ने भद्रकाली मन्दिरको जात्रा पर्व, संस्कार, संस्कृति तथा परम्परा वडा २२ सहित भित्री वडासँग सम्बन्धित छन्। सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले यो बहुपक्षीय सम्बन्ध राख्ने पुनर्निर्माणले हो। गत ३० जेठमा महानगरपालिकाका उपमेयर डंगोलको अध्यक्षतामा ‘लुमधी भद्रकाली मन्दिरपरिसरका संरचनाको पुनर्निर्माण सम्बन्धमा बैठक बसेर पुननिर्माण दक्षिण–पश्चिम भागबाट सुरु गर्ने निर्णय भएको थियो। यही बैठकले पुनर्निर्माण हुने ठाउँहरू गुठी संस्थान र लुमधी भद्रकाली व्यवस्थापन समितिले खाली गराउने निर्णय गरेको थियो।
मेयर बालेन्द्र शाह भन्छन्– हाम्रो परम्परागत शैलीमा फर्कने यो सुरुवात हो
०७२ सालको भूकम्पले जीर्ण अवस्थामा रहेको भद्रकाली मन्दिरलाई विदेशी शैली हटाएर परम्परागत नेवारी शैलीमा काठमाडौं महानगरले आजदेखि बनाउन सुरु गरेका छौँ।
मन्दिरमा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछन्। छानो झिँगटीको हुनेछ। उत्तर (भृकुटीमण्डप) तर्फ दुईवटा ‘ब्लक’ आपसमा जोडिएका हुनेछन्। यस्तै, दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) तीनवटा ब्लक हुनेछन्। यिनीहरू पनि आपसमा जोडिएका हुनेछन्। यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ।
स्थानीय र पुरातत्व विभागले बेलायती शैलीमा बनाउन माग गरे पनि हाम्रो अडान पुरानो हाम्रो नेवारी परम्परागत शैलीमै बनाउने थियो र यही शैलीमै बन्नेछ। यो सुरुवात हो, हाम्रो परम्परागत शैलीमा फर्कने।