सिमरा सेजमा खुल्न थाले उद्योग

शनिबार, २३ असार, २०८१
डिजिटल संस्करण
सिमरा सेजमा खुल्न थाले उद्योग

बैंक, वित्तीय संस्थालगायतका लागि बनाइएको सिमरा सेजको अत्याधुनिक भवन

६ वर्षमा दुईवटा मात्रै उद्योग सञ्चालन भएको सेजमा यतिवेला ६ अर्ब लगानी प्रस्ताव गरेका सात उद्योग धमाधम तयार हुँदै 

पप्पु गिरी, सहायक निर्देशक, सिमरा सेज : सेजभित्र दुईवटा ग्रेनाइट र टायल उद्योग सञ्चालनमा आइसकेका छन् । अहिले दुईपांग्रे र तीनपांग्रे इभी एसेम्बल फ्याक्ट्री, ब्याट्री, इलेक्ट्रिक एवं इलेक्ट्रोनिक उपकरण, मसला, कस्मेटिक्स सामग्री, सेरामिक्स टायल उत्पादन गर्ने थप सातवटा उद्योगको धमाधम संरचना निर्माण भइरहेको छ । 

बाराको सिमरा विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योगीहरूको आकर्षण बढ्न थालेको छ । सिमरा सेजमा पौने दुई अर्ब रुपैयाँ लगानीमा खुलेका लक्ष्मी ग्रेनाइट र पशुपति सेरामिक्सको उत्पादन बजार गइसकेको छ भने ६ अर्बभन्दा बढी लगानी गरेका सात उद्योगको भौतिक संरचना धमाधम निर्माण भइरहेको छ ।

देशकै दोस्रो सिमरा सेज शिलान्यास गरिएको ६ वर्षपछि गत माघमा लक्ष्मी ग्रेनाइट पहिलो उद्योगका रूपमा भित्रिएको थियो । अहिले थप सातवटा उद्योगले धमाधम भौतिक संरचना तयार गरिरहेको सिमरा सेजका सहायक निर्देशक पप्पु गिरीले बताए । ‘श्री माँ तारामसला उद्योग निर्माणको काम ९० प्रतिशत सकिएको छ, अब छिट्टै उत्पादन थाल्नेछ,’ उनले भने । निर्माणाधीन सातवटा उद्योगमा ६ अर्ब २० करोड ३७ लाख रुपैयाँ लगानीको प्रस्ताव छ । 

सिमरा सेजमा स्वदेशी तथा विदेशी लगानीका करिब ३० उद्योग सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ । अन्य उद्योगसँग पनि दुईपक्षीय सम्झौता भइसकेको हुनाले क्रमशः उद्योग खुल्नेक्रम बढ्ने गिरीले बताए । प्राधिकरणले सेजमा भएका सुविधा प्रयोग गरेर उद्योग सञ्चालन गर्न पटक–पटक सूचना प्रकाशित गरेको थियो । पछिल्लोपटक आवेदन दिएका उद्योग छनोट गरेर प्राधिकरणले अहिले धमाधम सम्झौता गरिरहेको छ ।

६ वर्षअघि स्थापना गर्दा सिमरा सेजलाई गार्मेन्ट क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७४ चैतमा सिमरा गार्मेन्ट प्रशोधन केन्द्रका रूपमा सेजको शिलान्यास गरेका थिए । तर, पछि सेज ऐन संशोधन गरेर निर्यातयोग्य उद्योगलाई पनि खुला गरेपछि उद्योगीको आकर्षण बढेको हो । 

एक अर्ब ७० करोड लगानीका दुईवटा मात्रै उद्योग सञ्चालनमा

सिमरा सेजमा खुलेको पहिलो उद्योग लक्ष्मी ग्रेनाइट हो । आलु–प्याज व्यापारी गुड्डु श्रीवास्तवले करिब २० करोड रुपैयाँ लगानी गरेर माघदेखि उद्योग सञ्चालनमा ल्याएका हुन् । सेजको एक बिघाभन्दा बढी क्षेत्रफल ओगटेको उद्योगबाट उत्पादित ग्रेनाइट स्ल्याब बजारमा आइसकेको छ । ‘अहिलेसम्म पाँच करोडभन्दा बढीको ग्रेनाइट बजारमा गइसक्यो, बिस्तारै ग्रेनाइट निर्यात गर्ने योजना छ,’ उद्योगका सञ्चालक श्रीवास्तवले भने, ‘हामीले भारतको राजस्थानबाट ग्रेनाइट ढुंगा ल्याएर उद्योगमा स्ल्याब बनाउने काम गर्छौँ ।’ उद्योगको ग्रेनाइट उत्पादन क्षमता मासिक दुई लाख वर्गफिट छ ।

पशुपति सेरामिक्स दोस्र्रो उद्योग हो । आठवटा प्लट भाडामा लिएको यस उद्योगले विभिन्न भेराइटीका टायल उत्पादन गरेर बजारमा पठाउन थालेको छ । पशुपति सेरामिक्स उद्योगमा स्वदेशी तथा विदेशी गरी करिब डेढ अर्ब रुपैयाँ लगानी रहेको छ । वार्षिक उत्पादन क्षमता ८१ हजार मेट्रिकटन रहेको यस उद्योगमा तुलसी साह रौनियारको ५० प्रतिशत हिस्सा रहेको छ । उनका अनुसार टायल उत्पादनमा अधिकतम कच्चा पदार्थ स्वदेशी नै प्रयोग गरिने र आन्तरिक बजारदेखि सीमावर्ती भारतीय क्षेत्र, भुटान र बंगलादेशसम्म निर्यात गर्ने लक्ष्य छ । 

सवा ६ अर्बमा सात उद्योग तयार हुँदै
सिमरा सेजमा श्री माँ ताराले मसला उद्योग चाँडै सञ्चालनमा ल्याउँदै छ । उद्योगको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको सिमरा सेजका सहायक निर्देशक पप्पु गिरीले बताए । यो उद्योगमा नौ करोड ३७ लाख लगानी गरिएको छ । 

साढे दुई वर्षअघि बारा–पर्सा औद्योगिक करिडोरको जितपुरमा नेपोभिट ब्रान्डमा टायल उत्पादन सुरु गरेका व्यवसायी शम्भुनाथ झा, मनोज रौनियारलगायतको समूहले सेजभित्र पनि ठूलो टायल उद्योग सञ्चालनमा ल्याउँदै छन् । करिब दुई अर्ब रुपैयाँ लगानी हुने उद्योगमा २५ प्रतिशत हिस्सा भारतीय टायल कम्पनी एजिएल ग्रुपको रहेको कम्पनीका अध्यक्ष झाले बताए । ‘सेजभित्र ११ वटा प्लटमा धमाधम उद्योग स्थापना गर्ने काम भइरहेको छ,’ उनले भने, ‘हामीले निर्यातको लक्ष्यसहित नयाँ उद्योग सञ्चालनमा ल्याउन लागेका हौँ ।’ उद्योगको दैनिक उत्पादन क्षमता २० हजार बक्स रहनेछ । उद्योग सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने झाको भनाइ छ । 

त्यस्तै, चिनियाँ लगानीकर्ताले सेजमा तीनवटा उद्योग लगाउँदै छन् । ८६ करोड रुपैयाँ लगानीमा दुई र तीनपांग्रे इभी एसेम्बल फ्याक्ट्री, ९२ करोड रुपैयाँ लगानीमा लि–आयोन र लिड एसिड ब्याट्री तथा ९७ करोड रुपैयाँ लगानीमा इलेक्ट्रिक, इलेक्ट्रोनिक उपकरण तथा कपर र आल्मुनियम इंगो उत्पादन गर्ने चिनियाँ लगानीकर्ताको तयारी छ । अहिले उद्योगको भौतिक संरचना निर्माण सुरु भइसकेको सिमरा सेजका सहायक निर्देशक गिरीले बताए । 

बालाजी म्यानुफ्याक्चरिङ प्रालिले पनि सेजमै धमाधम उद्योगको संरचना तयार गरिरहेको छ । ७० करोड रुपैयाँ लगानी रहने उद्योगबाट इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उत्पादन हुनेछन् । यस्तै, केम्याक्स हिमालय प्रालिले ६६ करोड रुपैयाँ लगानीमा कस्मेटिक्स सामान उत्पादन गर्ने उद्योगको संरचना तयार पारिरहेको छ । यी सबै उद्योगहरू एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित संरचना निर्माण गरिरहेको गिरीले बताए । 

देशकै ठूलो सेज
कुल नौ सय बिघा क्षेत्रफलमा फैलिएको सिमरा सेज देशकै ठूलो औद्योगिक पार्क हो । तर, सेजको सबै संरचना तयार भइसकेको छैन । त्यहाँ पाँचवटा छुट्टाछुट्टै ब्लक निर्माण गरिनेछ । निर्माण सम्पन्न भएको पहिलो ब्लकमा ६८ वटा प्लट रहेका छन् । यहाँ उद्योगहरू पनि सञ्चालनमा छन् । ब्लकको क्षेत्रफल ६५ सयदेखि सात हजार वर्गफिटसम्म रहेको छ । ‘ए’ ब्लक तीन सय ४३ बिघा क्षेत्रफलमा फैलिएको छ । 

प्राधिकरणले ‘ए’ ब्लकमा बैंक तथा बिमा कार्यालयका लागि सुविधासम्पन्न भवन तयार पारेको छ । यस्तै, भन्सार, प्रशासनिक भवन, विद्युत्, खानेपानी, ढल निकास, बालबालिका केयर हाउस, क्यान्टिन, पक्की सडक, तटबन्ध, धर्मकाँटालगायत निर्माण गरिएको छ । सेजभित्रै पेट्रोल–डिजेलपम्प निर्माण गरिँदै छ । ‘ए’ ब्लक तयार पार्नका लागि पाँच अर्बभन्दा बढी लगानी गरिसकेको प्राधिकरणले जनाएको छ ।

सेजले दिएका सुविधा
- उद्योगमैत्री बनाउन सेज ऐन पटक–पटक संशोधन, पाँच वर्षसम्म निर्यातबाट हुने आम्दानीमा कर छुटको सुविधा 
- भाडादर : २० रुपैयाँ प्रतिवर्गफिट (पहिलो वर्ष १० रुपैयाँ, दोस्रो वर्ष १२ रुपैयाँ, तेस्रो वर्ष १५ रुपैयाँ र चौथो वर्षदेखि २० रुपैयाँ भाडा लाग्ने व्यवस्था)
- तीन वर्षसम्म निर्यात नगरे पनि हुने 
- चारदेखि सात वर्षसम्म कुल उत्पादनको १५ प्रतिशत निर्यात गरे हुने
- आठौँ वर्षदेखि कम्तीमा ३० प्रतिशत निर्यात गर्नुपर्ने सर्त
- मेसिनरी, कच्चा पदार्थ र प्याकेजिङ आयातमा एक प्रतिशत भन्सार शुल्क

See More On

सुझावित समाचार