- प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेर शनिबार बिहानैबाट काम गर्ने, सके शनिबार नभए आइतबारसम्म राजमार्ग सञ्चालन हुने आकलन
धादिङ/दसैँ नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुको चाप बढ्न थालेको छ । तर, सडक यातायातमा चाप बढेकै समयमा देशको लाइफलाइन मानिने पृथ्वी राजमार्ग शुक्रबार साँझबाट पुनः अवरुद्ध बनेको छ ।
६५ भन्दा बढी जिल्लालाई संघीय राजधानीसँग जोड्ने देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरुद्ध बन्दा हजारौँ यात्रु प्रभावित बनेका छन् । त्रिशूली नदीको कटानले धादिङको गजुरी गाउँपालिका– ५, गलौदीनजिकै सडक भासिएपछि यात्रु फेरि वैकल्पिक मार्ग र अनिश्चितताको जोखिममा परेका छन् । सडक भासिनुअघि गल्छीको मछेडी खोलानजिक ग्यास बोकेको बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भइसकेको थियो ।
दैनिक १३ हजारभन्दा बढी सवारी गुड्ने यस राजमार्गमा चाडपर्वको समयमा झन्डै तेब्बर बढी सवारी गुड्छन् । अत्यावश्यक सवारी, यात्रुवाहक तथा मालवाहक सवारीको उच्च चाप हुने पृथ्वी राजमार्गको वैकल्पिक मार्ग खोजी र स्तरोन्नति नहुँदा यात्रुले हरेक वर्ष यस्तै सास्ती खेप्दै आएका छन् ।
नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजनाको पूर्वी खण्डका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार गलौदीमा त्रिशूली नदीतर्फको सडक–किनारको करिब ६० मिटर क्षेत्रमा चिरा परेको छ । त्यसमध्ये करिब ३५ मिटर सडक भासिएर तल खसेको छ । ‘सडकमा चिरा पर्ने र भासिने क्रम नरोकिएकाले थप क्षति हुन सक्ने जोखिम छ,’ उनले भने, ‘सडकको कुनामा रहेको डेनसम्मै चर्किएकाले भित्ता कटान नगरी एकतर्फी पनि सञ्चालन गर्न सक्ने अवस्था छैन ।’ प्राविधिक टोलीले स्थलगत निरीक्षण र मूल्यांकन गरेर शनिबार बिहानैबाट काम सुरु हुने उनले बताए । ‘सके शनिबार, नभए आइतबारसम्म पृथ्वी राजमार्ग सञ्चालन गर्छौँ,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काका अनुसार वैकल्पिक मार्गका रूपमा सवारीसाधन नौबिसेबाट हेटौँडा पठाइएको छ । पृथ्वी राजमार्ग भएरै जानुपर्ने सवारी काठमाडौंतर्फ नागढुंगा र पोखरातर्फ मुग्लिनआसपास रोकिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्ग अवरुद्ध बनेपछि साना गाडी (११ मिटरसम्मका)लाई वैकल्पिक मार्ग (त्रिभुवन राजपथ भएर उपत्यकाबाहिर पठाउन थालिएको छ । ‘तर, ठुला गाडी रोकिएका छन् । उपत्यका आउने गाडीलाई पनि रोकेर यहाँका गाडी पठाइरहेका छौँ,’ उनले भने । उनका अनुसार पछिल्लो एक साताको तथ्यांक हेर्दा दैनिक ५४ हजार हाराहारीमा सडकमार्ग भएर काठमाडौंबाट बाहिरिरहेका छन् । ‘तर, मुख्य राजमार्ग बन्द भएपछि यातायात प्रभावित बनेको छ,’ उनले भने, ‘काठमाडौंबाट बाहिरिने ठुला सवारीसाधन नागढुंगामा रोकिएका छन् ।
पृथ्वी राजमार्ग यसअघि पनि १८ दिन ठप्प बनेको थियो । भोटेकोशी बाढीका कारण गत १४ भदौमा कृष्णभिरमा सडक भासिएपछि नयाँ ट्र्याक खोलेर १ असोजबाट राजमार्ग सञ्चालन गरिएको थियो । पृथ्वी राजमार्गकै परेवाभिर, चालिसे, बांगेलगायतका क्षेत्रमा खसेको पहिरोले यात्रुले ठुलै सास्ती व्यहोर्दै आएका छन् । असोज दोस्रो साताको पहिरोले पनि पृथ्वी राजमार्ग अवरुद्ध बनेको थियो ।