विपतबिच विदेशी पर्यटक आगमनमा सुधार

शनिबार, २४ असोज, २०८३
प्रिन्ट संस्करण

लगातार प्राकृतिक विपत्को सामना गरिरहेको नेपालमा विदेशी पर्यटक आगमनमा भने सुधार देखिएको छ । बाढीपहिरोलगायतका विपत्का कारण पर्यटन क्षेत्रमा चुनौती बढे पनि सेप्टेम्बरमा विदेशी पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा बढेको हो ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को सेप्टेम्बरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले पर्यटक आगमन बढेको छ । यो सेप्टेम्बरमा ८७ हजार आठ सय चारजना विदेशी पर्यटक नेपाल आएको विभागको तथ्यांक छ ।

सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार सात सय ११ जना विदेशी पर्यटक नेपाल आएका थिए । विशेषगरी भारत, श्रीलंका, बंगलादेश र चीनजस्ता एसियाली बजारबाट पर्यटक आगमन बढ्दा सेप्टेम्बरको समग्र संख्या माथि गएको देखिन्छ । विपत्का बिच बढेको आगमनका कारण नेपाललाई माया गर्ने पर्यटकले यात्रा गरेका कारण पनि सेप्टेम्बरमा पर्यटक आगमन बढेको नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनील शर्माले बताएका छन् ।

साथै, ‘नेपाल कलिङ’लगायत विभिन्न अभियान तथा गतिविधिले सिन सकारात्मक प्रभाव पारेको उनको भनाइ छ । शरद् ऋतु नेपाल भ्रमणका लागि उपयुक्त समय भएकाले पनि यस अवधिमा विदेशी पर्यटकको आगमन बढ्ने गरेको शर्माको भनाइ छ । मौसम अनुकूल हुने तथा हिमाल र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त वातावरण बन्ने भएकाले शरद् ऋतुमा नेपाल आउने पर्यटकको संख्या सामान्यतया बढ्ने गर्छ ।

विशेषगरी चिनियाँ पर्यटकको आगमन बढ्नुमा नेपालको पर्यटनसम्बन्धी सकारात्मक प्रचारले भूमिका खेलेको शर्माले बताए । बाढीका कारण अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालसम्बन्धी समाचारको पहुँच बढेको र त्यस क्रममा नेपालको अवस्थाबारे सकारात्मक समाचार तथा सामग्रीसमेत प्रसारण भएकाले चिनियाँ पर्यटकमा नेपाल भ्रमणप्रति चासो बढेको उनको भनाइ छ ।

पछिल्लो समय आएको बाढीले नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पारे पनि यसको असर देशभर समान रूपमा नपरेको होटेल व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर भण्डारीले बताए ।

एसियाली बजारले धानेको पर्यटक आगमन
सेप्टेम्बरमा पर्यटक आगमन बढ्नुमा दक्षिण एसिया तथा अन्य एसियाली देशका पर्यटकको योगदान देखिएको छ । सेप्टेम्बरमा सार्क राष्ट्रबाट मात्रै ३० हजार ८५ जना पर्यटक नेपाल आएका छन् । यो कुल पर्यटक आगमनको ३४.०९ प्रतिशत हो । सार्क क्षेत्रबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा करिब २४ प्रतिशतले बढेको छ ।

सेप्टेम्बरमा भारतबाट सबैभन्दा बढी १७ हजार चार सय २५ जना पर्यटक आएका छन् । यो कुल आगमनको १९.७५ प्रतिशत हो । भारतीय पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत बढेको छ । त्यसैगरी, श्रीलंकाबाट सात हजार एक सय आठ र बंगलादेशबाट तीन हजार नौ सय ६४ जना पर्यटक नेपाल आएका छन् । यी दुई मुलुकबाट आउने पर्यटक क्रमशः ५४ प्रतिशत र ३१.५ प्रतिशतले बढेका छन् । 

पश्चिमी बजारमा भने गिरावट
समग्र पर्यटक आगमन बढे पनि युरोप, अमेरिका र ओसियाना क्षेत्रका केही परम्परागत बजारबाट आउने पर्यटक घटेका छन् । युरोपबाट सेप्टेम्बरमा १५ हजार एक सय ४८ जना पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ८.७ प्रतिशत कम हो । बेलायतबाट तीन हजार सात सय २५, जर्मनीबाट एक हजार नौ सय ७४, फ्रान्सबाट एक हजार तीन सय ८९ र स्पेनबाट एक हजार एक सय २० जना पर्यटक आएका छन् । सेप्टेम्बरमा बेलायती पर्यटक आगमन २५.२ प्रतिशत र जर्मन पर्यटक ११.५ प्रतिशत घटेका छन् । यद्यपि, रुस, इटाली र चेक रिपब्लिकबाट आउने पर्यटक क्रमशः १८.४ प्रतिशत, २०.४ प्रतिशत र १५.७ प्रतिशतले बढेका छन् ।

अमेरिकी महादेशबाट आउने पर्यटकको संख्या पनि १२.३ प्रतिशत घटेर १० हजार एक सय सातमा झरेको छ । अमेरिकाबाट आठ हजार दुई सय ९९ जना पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १४.३ प्रतिशत कम हो । क्यानडाबाट आउने पर्यटक पनि १५.५ प्रतिशत घटेका छन् । ओसियाना क्षेत्रबाट पाँच हजार चार सय २२ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको तुलनामा २५.९ प्रतिशत कमी हो । अस्ट्रेलियाबाट मात्रै चार हजार आठ सय ४२ जना पर्यटक आएका छन्, जुन २९ प्रतिशत कम हो ।

चिनियाँ पर्यटक दोब्बरभन्दा बढी वृद्धि
नेपालको पर्यटक आगमन वृद्धिमा चीनको बजारले उल्लेख्य योगदान गरेको छ । सेप्टेम्बरमा चीनबाट ११ हजार दुई सय १२ जना पर्यटक नेपाल आएका छन् । गत वर्षको सोही महिनामा चीनबाट पाँच हजार दुई सय ३७ जना पर्यटक आएका थिए । यसरी एक वर्षमा चिनियाँ पर्यटक आगमन ११४ प्रतिशतले बढेको छ । त्यस्तै, जापानबाट दुई हजार ६६ जना पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४५.४ प्रतिशत बढी हो । मलेसियाबाट एक हजार आठ सय ७७ र दक्षिण कोरियाबाट एक हजार चार सय १२ जना पर्यटक आएका छन् । यी दुई मुलुकबाट आउने पर्यटक क्रमशः १२.२ प्रतिशत र ४.३ प्रतिशतले बढेका छन् ।

सुझावित समाचार