कृषि बिमा अनुदानबापतको एक अर्ब ६८ लाख भुक्तानी तत्काल गरिने

शुक्रबार, २२ असार, २०८१
डिजिटल संस्करण

सरकारले कृषि तथा पशु बिमा अनुदानको बक्यौतामध्ये तत्काल एक अर्ब ६८ लाख रुपैयाँ निर्जीवन बिमा कम्पनीहरूलाई भुक्तानी दिने भएको छ । यसका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बाली तथा पशुधन बिमा कोषमा ९७ करोड रुपैयाँ रकम पठाइसकेको छ ।

त्यसमा कोषले आफूसँग भएको तीन करोड ६८ लाख रुपैयाँ थप गरेर सोबराबरको रकम कम्पनीहरूलाई वितरण गर्ने निर्णय गरिसकेको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए । कृषि तथा पशु बिमा गर्दा लाग्ने शुल्कमा ८० प्रतिशत सरकारले अनुदान दिनुपर्ने प्रावधान छ ।

त्यसबापत कम्पनीहरूले सरकारबाट झन्डै साढे दुई अर्ब रुपैयाँ बक्यौता छ । बक्यौता धेरै भएपछि कम्पनीहरूले गत चैत १ गतेदेखि जेठ १७ गतेसम्म यसको कारोबार नै रोकेका थिए । गत जेठ १७ गते मन्त्रालयले तत्काल ९७ करोड रुपैयाँ भुक्तानी गर्ने प्रतिबद्धता गरेपछि जेठ १८ गतेदेखि यसको कारोबार सुरु गरिएको थियो ।

त्यो प्रतिबद्धता गरेको एक महिनापछि बिमा कम्पनीहरूले उक्त रकम पाउन लागेका हुन् । यद्यपि, यसअन्तर्गत अझै साढे एक अर्ब रुपैयाँ बाँकी नै हुन्छ । त्यसका लागि थप ८५ करोड रुपैयाँ निकासा गर्न अर्थ मन्त्रालयमा रकमान्तरको प्रस्ताव पठाएको कृषि मन्त्रालयका एक अधिकारीले बताए ।

See More On

सुझावित समाचार