बागलुङमा बने दुई वर्षमा ४१ झोलुंगे पुल

शनिबार, २ असार, २०८१
डिजिटल संस्करण

बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुंगे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९/८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुंगे  निर्माण भएका हुन् । झोलुंगे  पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन् । जिल्लाका १० पालिकामा प्रदेश र स्थानीय तहको लगानीमा झोलुंगेपुल निर्माण भएका हुन् । 

 पूर्वधार विकास कार्यालय बागलुङका इञ्जिनियर गोपाल चापागाईंले यस वर्षभन्दा अघिल्लो वर्ष धेरै पुल निर्माण भएको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकामा दुई र अघिल्लो वर्ष चार गरी छ पुल निर्माण भएका छन् । 

गलकोट नगरपालिकामा अघिल्लो र यस वर्ष एक/एक गरी दुई पुल बनेका छन् । ढोरपाटन नगरपालिकामा अघिल्लो वर्ष चार र यस वर्ष दुई गरी छ पुल निर्माण भएको उनकाे भनाइ छ । जैमिनी नगरपालिकामा अघिल्लो वर्ष तीन र यस वर्ष दुई गरी पाँच झोलुंगे पुल बनेको इञ्जिनियर चापागाईंले बताए । 

चापागाईंका अनुसार निसीखोला गाउँपालिकामा अघिल्लो वर्ष पाँच र यस वर्ष चार गरी नौ वटा पुल बनेका छन् । तमानखोला गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा दुई र चालु वर्षमा एक गरी तीन वटा पुल बनेको उनले  जानकारी दिए ।

बडिगाड गाउँपालिकामा गत वर्ष एक र यस वर्ष यस वर्ष चार गरी पाँच वटा पुल बनेको इञ्जिनियर चापागाईं बताउछन् । ताराखोला गाउँपालिकामा गत वर्ष तीन वटा पुल बनेका थिए । काठेखोला गाउँपालिकामा अघिल्लो वर्ष दुई र यस वर्ष दुई गरी चार वटा पुल बनेको चापागाईंले बताए ।

 पुल निर्माण भएपछि खोला वारपारमा निकै भहज भएको ढोरपाटन नगरपालिका–९ का बलबहादुर घर्तीमगरले बताए । उत्तरगंगा नदीमा सीमित ठाउँमा मात्रै पुल हुँदा स्थानीयले सास्ती खेप्दै आएकोमा अहिले ठाउँठाउँमा पुल बनेपछि समस्या समाधान भएको उनकाे भनाइ छ । बर्खाको समयमा उत्तरगंगा नदीले बर्सेनि दुई/तीन जना बगाउने गरेको भन्दै अब कोही पनि बगेर मृत्युवरण गर्नु नपर्ने घर्तीमगर बताउछन् । 

 उनले भने, ‘हिउँदका समयमा बस्तुभाउ वारिपारी खोलाबाटै गराइन्थ्यो, मान्छे पनि खोला तरेरै वारपार गर्थे, बर्खा लाग्थ्यो बने खोला बढेर माथिमाथि आउँछ, तर्न त के छेउमा जान पनि सकिँदैन, पुल नहुँदा यहाँका धेरै नागरिकले दुःख पाए, अहिले त पुल बनेको छ, केही सुविस्ता होला भन्ने आशा गरेका छौँ, केटाकेटीहरु पनि सजिलै वारपार गर्नेछन् ।’

सुझावित समाचार