अब माटो परीक्षण आफ्नै पालिकामा

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

माटो परीक्षण भनेको के हो ? माटो कसरी परीक्षण गरिन्छ ? किन माटो परीक्षण गरिन्छ ? यस्तो विषयमा केही जानकारी नभएका हिमाली जिल्ला ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका बासिन्दाले अब माटो परीक्षण आफ्नै गाउँपालिकामा गर्न पाउने भएका छन् । आफ्ना खेतबारीमा कस्तो किसिमको माटो छ र के बाली लगाउन उपयुक्त हुन्छ भन्नेबारे थाहा पाउन गाउँपालिकाले माटो परीक्षण गर्न मिनी ल्याब स्थापना गरेको छ । 

माटोको अवस्था पहिचान गरेर मात्र किसानलाई खेतीबाली लगउन प्रोत्साहित गरी गाउँमा नै उत्पादन गरेको अर्गानिक खाद्यवस्तु खाने गरी मिनी ल्याबको स्थापना गरिएको  छ । मेरिङदेन गाउँपालिकाले पालिकाभरिमा उत्पादन के गर्न सकिन्छ ? पहिचान पछि मात्र किसानलाई खेतीबाली लगाउन प्रोत्साहित गर्न माटो परीक्षण मिनी ल्याब स्थापना गरेको पालिकाका अध्यक्ष युक हां वीर हांगाम (मम्बर) ले बताए । 

कुन माटोमा कस्तो प्रकृतिको खेतीबाली लगाउने, माटोमा अम्लीयपनको अवस्था कस्तो छ भनी पहिचान गर्न गाउँपालिकाले चालू आर्थिक वर्ष ०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रममार्फत मिनी ल्याब स्थापना गरेको अध्यक्ष हांगामले बताए । 

पालिकाको कृषि शाखामार्फत पालिकाभरिका किसानका खेत, बारीको माटो परीक्षण गरिने प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर सुब्बाले जानकारी दिए । बाली लगाउनुपूर्व किसानले माटो खेतीयोग्य छ वा छैन परीक्षण गरेर मात्र बाली लगाउन सूचना गरिसकेकोसमेत प्रशासकीय अधिकृत सुब्बाले जनाकारी दिए । किसानले पालिकाको कृषि विकास शाखामा माटोको नमुना संकलन गर्नुपर्नेछ । 

माटो संकलन गर्दा संकलन मिति, जग्गाको प्रकार, अब लगाउने बाली, सिँचाइ अवस्था र पहिले लगाइएको बाली खुलाउनुपर्नेछ । सँगै प्रयोग गरिएको प्रांगारिक तथा रासायनिक मल तथा कृषि चुन प्रयोग गरेको त्यसको मात्रासहितको विवरणसमेत पेस गर्न पालिकाले सूचना गरेको सहायक कृषि प्रसार अधिकृत समिता साेतीले बताइन् । 

पालिकाका प्रसार अधिकृत साेतीले ल्याबमा माटो परीक्षण गर्नका लागि सोयल टेस्टिङ मेसिनलगायत आवश्यक सामग्रीहरू खरिद गरी ल्याबको स्थापना गरिएको बताइन् । 

सुझावित समाचार