राष्ट्रपति पौडेल दोहाबाट जेनेभा प्रस्थान

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुने सिलसिलामा आज बिहान कतारको राजधानी दोहाबाट त्यसतर्फ प्रस्थान गरेका छन् ।

मंगलबार राति दोहा पुगेको राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डललाई हमाद इन्टरनेसनल विमानस्थलमा कतारका लागि नेपालका राजदूत नरेशविक्रम ढकाल, कतारी विदेश मन्त्रालय र नेपाली राजदूतावासका कर्मचारीले बिदाइ गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यसअघि सोही टोलीले राष्ट्रपतिलाई स्वागत गरेको थियो । 

राष्ट्रपति पौडेलले आज स्विस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भोलि बिहीबार उनले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन्।  भोलि नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट बर्लिनतर्फ प्रस्थान गर्नेछन् । संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टाइनमायेरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा जान लागेका उनले असार ३ गते आफ्ना जर्मन समकक्षीसँग औपचारिक वार्ता गर्नेछन् ।

जर्मनीमा राष्ट्रपति पौडेलले पोस्टडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो–साइन्स, टेलेग्राफफेनबर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ। साथै, सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

असार २ गते गैरआवासीय नेपाली संघ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा उनले जर्मनीमा रहेका नेपालीलाई सम्बोधन गर्नेछन् ।  त्यसैगरी राष्ट्रपतिले असार ३ गते जर्मनी ‘ट्रेड एन्ड इन्भेस्ट’मा आबद्ध उद्योगी–व्यापारीसँग भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किनेछन् । 

सुझावित समाचार