मधेश प्रदेशमा जनमतका सतिश सिंहको नेतृत्वमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस भएको छ। उनीहरूले बिहीबार प्रदेश प्रमुख सुमित्रादेवी सिंहसमक्ष दाबी पेस गरेका हुन्। एमाले, जनमत, माओवादीसहितको गठबन्धनमा मन्त्रालय बाँडफाँटमा कुरा मिलेपछि मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस भएको हाे।
बुधबार जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले सरकार निर्माणका लागि बहुमत पेस गर्न शुक्रबार १० बजेसम्मको समय दिएकी थिइन् ।
एमाले, माओवादी र एकीकृत समाजवादीले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन सहमत छन् । सोहीअनुसार बिहीबार दिउँसो सरकार बनाउन दाबी पेस गर्ने तयारी गरेका थिए। बिहीबार मन्त्रालय भागबन्डाका विषयमा सहमति भएपछि दाबी पेस गरिएको हाे।
नेकपा एमालेलाई भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, नेकपा माओवादी केन्द्रलाई अर्थ र पर्यटन, नेकपा एसलाई कृषि, ऊर्जा तथा सिँचाइ, १–१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह, सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ। मधेशमा मुख्यमन्त्रीबाहेक ११ मन्त्रालय छन्।