अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट विगतका भन्दा सन्तुलित आएको दाबी गरेका छन् । प्रस्तावित बजेटमाथि राष्ट्रिय सभामा भएको छलफलमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘मुलुकको चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आवको बजेटको आकार महत्वाकांक्षी नरही सन्तुलित छ ।’
आव ०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट कार्यान्वयन गर्न आवश्यक वित्तीय स्रोत परिचालन हुने गरी कार्ययोजनासहित स्रोत व्यवस्थापन गरिने उनले बताए । उनले भने, ‘आगामी आर्थिक वर्षको खर्च अनुमान चालू आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले मात्र बढी हो । यसैगरी, चालू आर्थिक वर्ष ०८०/८१ को तुलनामा चालू खर्चतर्फ न्यून बजेट विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ बजेट वृद्धि गरिएको छ ।’
आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदान गरी ६ खर्ब ६७ अर्ब अर्थात् कुल विनियोजनको ३०.५ प्रतिशत वित्तीय हस्तान्तरण गरिने सुनिश्चितता जनाएकाले प्रदेश र स्थानीय तहमा जाने रकम बढी नै रहेको उनको भनाइ छ । उनले भने, ‘यो रकमबाट सञ्चालन हुने क्रियाकलाप तथा संघीय सरकारको कार्यक्रमबाट सञ्चालन गरिने क्रियाकलापबाट प्रादेशिक सन्तुलन निर्माणमा योगदान पुग्ने अपेक्षा लिएको छु ।’
अर्थतन्त्र चलायमान हुँदै गएको र निजी क्षेत्रको मनोबल बढ्दै गएकाले वित्तीय क्षेत्रबाट लगानीयोग्य पुँजी थप परिचालन हुने उनको विश्वास छ । त्यस्तै, भर्खरै सम्पन्न भएको लगानी सम्मेलनमा व्यक्त भएका प्रतिबद्धताबमोजिम थप वैदेशिक लगानी परिचालन हुने उनले बताए । उनका अनुसार तीन तहकै सरकारबाट पुँजीगत खर्चमा बढोत्तरी हुनेछ ।