एमाले मकवानपुरको जिल्ला अध्यक्षका प्रमुख दाबेदार मानिएका उम्मेदवार रघुनाथ खुलालले उम्मेदवारी फिर्ता लिएका छन्। उनले अध्यक्षका अर्का उम्मेदवार इन्द्रमान स्याङ्तानलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल र वर्तमान अध्यक्ष एकालाल श्रेष्ठको साथ रहेको भनिएका खुलालले उम्मेदवारी फिर्ता लिँदै आफू अध्यक्षको प्रमुख दाबेदार भए पनि पार्टीले अगाडि सारेको उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताएका थिए।
खुलालले समर्थन गरेका उम्मेदवार स्याङ्तानलाई पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज देवी ज्ञवालीको उम्मेदवारका रूपमा हेरिएको छ। यस्तै, अर्का प्रतिस्पर्धी उम्मेदवार श्रीधर पोखरेललाई एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने र कृष्ण दाहालको साथ छ।
शुक्रबारबाट जारी एमालेको १२औँ जिल्ला अधिवेशनअन्तर्गत अध्यक्ष पदमा खुलालले उम्मेदवारी फिर्ता लिएपछि चारजनाको उम्मेदवारी यथावत् रहेको निर्वाचन समितिका सुजन तिमल्सिनाले जानकारी दिए। तिमल्सिनाका अनुसार अध्यक्ष पदकाका लागि श्रीधर पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालको उम्मेदवारी कायम छ।
एमाले मकवानपुरका सचिव नवीन सिग्देलले जिल्ला कमिटीको उपाध्यक्षमा चारजना, सचिवमा तीनजना, उपसचिव खुलातर्फ पाँचजना र उपसचिव महिलातर्फ चारजनाबीच प्रतिस्पर्धा हुने जानकारी दिए।
सचिव सिग्देलका अनुसार उपाध्यक्षमा हिदम लामा, सुनील मोक्तान, ध्रुव चौलागाईं र भरत दुलालको उम्मेदवारी कायम छ। चौलागाईंले यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिने दाबी गर्दै आएका थिए।
यस्तै, सचिवमा उम्मेदवारी दिएकी सुमित्रा काफ्लेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन्। सचिवमा पदमा मदनकुमार दाहाल, सीता विष्ट र राजन थापाबीच प्रतिस्पर्धा हुने भएको छ।
यता उपसचिव खुलातर्फ इन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाईं, दीपक खड्का, फुर्वादोर्जे लामा र खेमराज मगरको उम्मेदवारी कायम छ भने उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी कायम छ।
जिल्ला कमिटीमा सयजना सदस्य र पाँच पदाधिकारी निर्वाचित हुनेछन्। हेटौँडाको रोयल पार्टी प्यालेसमा जारी जिल्ला अधिवेशनमा सात सय ६९ जना प्रतिनिधि सहभागी रहेका छन्। अधिवेशनका लागि दुई सयजना स्वयंसेवक खटिएको सचिव सिग्देलले बताए।