१० महिनामै भक्तपुर भित्रिए दुई लाख पर्यटक

मंगलबार, ८ जेठ, २०८१
डिजिटल संस्करण

१० महिनामा दुई लाख पर्यटकले भक्तपुर नगरपालिका भ्रमण गरेका छन् । चालू आर्थिक वर्षको १० महिनामा गैरसार्कतर्फ एक लाख सात हजार, सार्क र चिनियाँतर्फ गरी एक लाख तीन हजार पर्यटकले भक्तपुरको भ्रमण गरेका हुन् ।

गत आवको साउनदेखि वैशाखसम्म १० महिनामा गैरसार्कतर्फ ७८ हजार, सार्क र चिनियाँतर्फका ६० हजार पर्यटक गरी एक लाख ३९ हजार पर्यटकले भक्तपुर भ्रमण गरेका थिए । गत वर्षको तुलनामा यो वर्ष ७० हजारभन्दा धेरै पर्यटकले भक्तपुरका पर्यटकीय क्षेत्र भ्रमण गरेको नगरपालिकाले जनाएको छ ।

पर्यटक वृद्धिका लागि नगरपालिकाले गत १४ पुसमा ‘पोखरी चिनौँ सम्पदा जोगाऔँ’सहित ‘सांस्कृतिक सम्पदा पदयात्रा र बहाबही चिनौँ र सम्पदा जोगाऔँ’ नारासहित पोखरी र बहाबहीको पदयात्रा, योमरी उत्सव तथा सांस्कृतिक सम्पदा पदयात्रा गरेको थियो । यसैगरी, गत २ फागुनमा चिनियाँ नयाँ वर्ष (ड्र्यागन वर्ष)को अवसरमा भक्तपुर दरबार क्षेत्र र टौमढीमा नेपाली र चिनियाँ विशेष सांस्कृतिक प्रदर्शनी कार्यक्रम गरिएको थियो । 

पर्यटकलाई आकर्षित गर्ने विभिन्न क्रियाकलाप नगरपालिकाले गर्दै आएको मेयर सुनील प्रजापतिले बताए । उनका अनुसार पर्यटकलाई आकर्षित गर्न पुरानो नगर क्षेत्रभित्र निजी घर र सम्पदा पुनर्निर्माणका लागि माटो जोडाइलाई जोड दिइएको छ । प्रसिद्ध थन्थु दरबार, दत्तात्रयस्थित पुजारीमठ, छुमा गणेश द्यो छेँलगायत सम्पदा माटो जोडाइबाट निर्माण गरिएका छन् । 

सुझावित समाचार