जोखिमपूर्ण यात्रा गरेर लक्ष्यको बिल्कुल नजिक पुगेको, तर हातमै आएको सफलताबाट विमुख हुनुपर्दाको परिवेश । हरकोहीका लागि यो क्षण असाध्यै असह्य हुन्छ नै । यस्तै एउटा नमीठो क्षण भोगेका छन्– सफ्टवेयर इन्जिनियर किरण खड्काले ।
सगरमाथा आरोहणको प्रयासमा लागेका इन्जिनियर खड्का शिखर टेक्न एक सय मिटर बाँकी छँदा नै फर्किएका छन् । खराब मौसमका कारण उनी शिखरमा पुग्न सकेनन् । ८,७४९ मिटरसम्म पुगेका उनी शिखर नपुगी फर्कन बाध्य भए ।
खड्का एक वर्षदेखि सगरमाथा आरोहणको तयारीमा थिए । यसैअनुसार उनले यही सिजनमा सरगरमाथाा चढ्ने निर्णय गरे । र, आफ्नो यात्रा थाले । १३ मे बिहान उनी सगरमाथाको शिखर चुम्ने अन्तिम विन्दुमा थिए । तर, मौसमले साथ दिएन, बरु खड्काको एक वर्षको मिहिनेत र सपनामाथि गम्भीर ठेस पुर्यायो ।
‘बिहान ५ बजे नै दक्षिणी मोहडा पुगेको थिएँ । त्यहाँबाट अघि बढ्दै गर्दा हावा बेस्सरी चल्न थाल्यो । पथप्रदर्शक मिङ्मा शेर्पा र टिम लिडर मिङ्मा छिरिङ शेर्पाले मौसम खराब भयो, चढ्न सकिँदैन भनेपछि अघि बढ्न मन लागेन,’
खड्काले भने, ‘ज्यान ठूलो कि आरोहण भन्ने सवालमा परिवार सम्झिएँ । त्यसपछि झरियो ।’ सगरमाथाको उचाइमा नेपालको झन्डा गाड्न नसके पनि उनलाई पश्चात्ताप छैन । ‘मलाई कुनै पश्चात्ताप छैन, किनकि सगरमाथा चढ्दा गर्नुपर्ने संघर्ष सबै मैले गरिसकेको छु । खाली शिखरमा पुगेको प्रमाणपत्र आउने थियो होला’, उनले भने ।
पेसाले सफ्टवेयर इन्जिनियर खड्का हाल अमेरिका बस्छन् । उनी आरोहणका सौखिन हुन् । केही समयअघि मात्रै उनले ६ हजार मिटरमाथिको लोबुचे हिमाल आरोहण गरेका थिए । ‘हामीले हाम्रो देश नै धेरै घुम्न बाँकी छ भन्ने लाग्छ । हाम्रा हिमाल हामीले नचढे कसले चढ्ने ? तसर्थ, म समय मिलाएर अमेरिकाबाट आरोहणका लागि आउने गरेको छु । आरोहणको आनन्द नै बेग्लै छ । भविष्यमा पनि हिमालहरू आरोहण गरिरहनेछु,’ उनले भने । सुर्खेत जिल्लाबाट सगरमाथाको यति उचाइसम्म पुग्ने उनी पहिलो आरोही हुन् ।