प्रमुख प्रतिपक्षी दल कांग्रेसले नीति तथा कार्यक्रम परम्पराको निरन्तरता मात्रै भएको जनाएको छ।
नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले उत्साह थप्न नसकेको बताए। उनले नीति तथा कार्यक्रममा सम्बोधन गर्नुपर्ने कतिपय विषय सरकारको प्राथमिकतामा नपरेको बताए।
‘सरकारको नीति तथा कार्यक्रम एकदमै परम्परागत छ। आजसम्म जे जस्तो हुन्थ्यो त्यस्तै छ। केही नयाँ विषय, नयाँ उत्साह केही पनि छैन। बरु धेरै आवश्यक विषय छुटेका छन्।
विश्वव्यापी रूपमा अर्थतन्त्रमा रहेको संकुचनलाई नीति तथा कार्यक्रममा मुलुकको अर्थतन्त्र कसरी विकास हुन्छ र कसरी विस्तार हुन्छ भन्ने विषयमा कुनै ठोस नीति दिन सकेको छैन,’ उनले भने, ‘जस्तो सहकारी ठगीका विषयमा यत्रो विषय उठेको छ। लाखौँ मानिस ठगिएका छन्। अरबाैँ रकम हिनामिना, दुरुपयोग र अपचलन भएको छ। यसको विषयमा पीडितलाई न्याय र संलग्नलाई कारबाहीको कदम उल्लेख गरेको छैन। यसले सरकार सहकारीको विषयमा गैरजिम्मेवार छ भन्ने देखाउँछ।’