बागमती प्रदेश सभाको बैठक आज दिउँसो बस्दै छ । आज दिनको ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसअघि आज दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए। सोही बैठकले आज ३ बजे बस्ने बैठकको कार्यसूचीलाई अन्तिम रूप दिनेछ। यस्तै, आजकै बैठकले संसदीय समितिको सभापतिको निर्वाचनको विषयमा पनि टुंगो लगाउने प्रवक्ता गुप्ताले जानकारी दिए। उनका अनुसार दलहरूबीच यही ४ गते संसदीय समितिको सभापतिको निर्वाचन गर्ने सहमति भएको छ।
प्रवक्ता गुप्ताका अनुसार संसदमा पेस हुने सिद्धान्त र प्राथमिकतामाथि भने अर्को बैठकबाट छलफल हुनेछ । यसअघि हिजो सोमबारबाट सुरु भएको प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेता तथा सचेतकहरूले शुभकामना व्यक्त गरेका थिए ।
यस्तै, सोमबारको बैठकमा प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरेकी छिन्। संसदमा पेस भएको सो अध्यादेश ६० दिनभित्र प्रतिस्थापन विधेयकसहित पारित गर्नुपर्ने व्यवस्था छ। प्रदेश सरकारको गत वैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।