सडक निर्माण ढिला हुँदा स्थानीयले सास्ती बढेको गुनासो गरेपछि स्थलगत निरीक्षण गर्दै काम छिटो सक्न जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमको निर्देशन
दुई वर्षमा निर्माण सक्ने गरी ठेक्का लागेको भकुन्डे–मेच्छे सडकखण्डको काम चार महिना म्याद बाँकी रहँदा २२ प्रतिशत मात्रै सकिएको छ ।
दुई खण्डमा गरेर १३ किलोमिटर सडक चौडा, नाली, वालसहित कालोपत्रे गर्नुपर्ने भए पनि २० महिनामा करिब तीन किलोमिटर मात्रै बनेपछि स्थानीयले सास्ती खेपेका छन् । जिल्लाको नमोबुद्ध नगरपालिका वडा–२, भकुन्डेबँेसीबाट तेमाल गाउँपालिकाको कार्यालय हुँदै मेच्छे जोड्ने सडक विस्तारको काममा ढिलासुस्ती भएको हो । यो सडक विस्तारका लागि सडक डिभिजन भक्तपुरले १६ साउन ०७९ मा केएस देवीरमण तेज जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।
२० करोड ८९ हजार ६ रुपैयाँ ४३ पैसामा सम्झौता भएको सडकको निर्माण अवधि आगामी १५ साउनसम्म मात्रै छ । सडक डिभिजन भक्तपुरका इन्जिनियर बिन्दा अधिकारीले नमोबुद्ध र तेमाल दुई खण्डमा काम भइरहे पनि निर्माण कार्य सुस्त भएको जानकारी दिइन् । सडक निर्माण ढिला हुँदा स्थानीयले सास्ती बढेको गुनासो गरेपछि स्थलगत निरीक्षण गरी जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले काम छिटो सक्न निर्देशन दिएका छन् । ‘निर्माणका काम छिटो सक्नुस्, जनता मारमा परेको हेर्न सकिँदैन भनेको छु,’ गौतमले भने ।
समयमा नसकिए पनि नतिजा देखिने कार्यतालिका बनाएर काम गर्न निर्माण कम्पनीलाई गौतमले निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति, काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले सडक निर्माणको नाममा जनतालाई सास्ती दिन नहुने बताए ।
नमोबुद्ध–४ का स्थानीय माधव कँडेलले सडक विस्तारका लागि ठाउँ–ठाउँमा भत्काइएकाले हिँड्नै गाह्रो भइरहेको गुनासो गरे । घाम लाग्दा धुलोले हिँड्नै नसक्ने र कपडा धोएर सुकाउनै नमिल्ने उनको भनाइ छ । ‘यो बाटो हुँदै दैनिक हामीले १० पटकसम्म हिँड्नुपर्छ, तर जथाभावी भत्काइदिनाले सडकको हरिबिजोग छ,’ उनले भने, ‘सडक छिटो निर्माण भइदिए सबैलाई सजिलो हुने थियो ।’
नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले सडक विस्तारमा जनताले समस्या नपारेको, तर स्थानीयलाई दोष दिएर निर्माणमा ढिलाइ गर्न नमिल्ने बताए ।