रुसी सेनामा कार्यरत नेपालीका परिवारले अनशन तोडे

सोमबार, २४ बैशाख, २०८१
डिजिटल संस्करण

रुसी सेनामा कार्यरत नेपालीको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, सेनामा रहेकाको करार रद्द गर्न माग गर्दै आमरण अनशनमा रहेका परिवारजनले १७औँ दिनमा आइतबार अनशन तोडेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट उनीहरूको माग पूरा गर्न सरकारले कूटनीतिक प्रयास गर्ने प्रतिबद्धता जनाइएपछि अनशन तोडेका हुन् । 

‘प्रधानमन्त्रीका तर्फबाट हाम्रा माग पूरा गर्न कूटनीतिक प्रयास तीव्र बनाउने प्रतिबद्धता आएपछि आमरण अनशन स्थगित गरेका हौँ । तर, हामी न्यायको आवाज अन्य तरिकाले जारी राख्नेछौँ,’ रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले नयाँ पत्रिकासँग भनिन् । रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म ३९ जनाको मृत्यु भएको र थप १८ जनाको मृत्यु पुष्टि हुन बाँकी रहेको उनले बताइन् । 

भण्डारीको नेतृत्वमा परिवारले सिंहदरबार घेराउदेखि रुसी दूतावासअगाडि प्रदर्शन गर्दै आएका थिए । रुसी सेनामा रहेकाहरूले करार रद्द गरेपछि पनि नेपाल फर्काउन सरकारबाट प्रयास नभएको, मृतकका परिवारलाई क्षतिपूर्तिका लागि प्रभावकारी कूटनीतिक अग्रसरता नदेखाएको भन्दै उनीहरूले माग पूरा गराउन अनशन सुरु गरेका थिए । प्रधानमन्त्री प्रचण्डका जनसम्पर्कविज्ञ बुद्धि जिसीलगायत प्रधानमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालयका अधिकारी गएर अनशन तोडाएका थिए । 

‘परिवारजनले सरकारमार्फत रुससँग न्याय मागेका हुन् । यसका लागि निरन्तर दबाब दिइरहन्छौँ,’ भण्डारीले भनिन् । उनका अनुसार हालसम्म रुसमा कार्यरत रहेकामध्ये उनीहरूसँग ६ सय २० भन्दा धेरै व्यक्तिको विवरण छ । जसमध्ये ३९ जना मृतक, १८ जना मृत्यु भएको भनिएका, तर पुष्टि हुन बाँकी, पाँचजना युुक्रेनको कब्जामा, ११७ जना घाइते तथा २७२ जना सम्पर्कविहीन छन् । रुसी सेनामा करार सम्झौता रद्द गरेका नौजना, रुसी राहदानीका लागि आवेदन दिएका ११ जना, रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका १९ जना र बाँकी व्यक्ति सम्पर्कमा छन् । ‘३९ जना नेपालीको मृत्यु भएको विवरण प्राप्त भएको छ । 

सुझावित समाचार