कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान अवस्थामा कांग्रेसले सरकारको फेरो समात्न आवश्यक नरहेको औँल्याएका छन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघको १०औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित बृहत् रक्तदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसले वर्तमान अवस्थामा जनताको माझमा रहेर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए।
‘यतिवेला कांग्रेसले अरूको बैसाखी बन्नुहुँदैन। हामीलाई बैसाखी बनाएर आफ्नो दुनो सोझ्याउन माहिर पश्चगामीहरूलाई अब कांग्रेसले ठीक साइजमा ल्याउने वेला भइसकेको छ। हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरौँ र ०८४ मा एकल बहुमत ल्याउन सक्ने पार्टी तयार पारौँ,’ उनले भने।
गठबन्धन र सत्ताकेन्द्रित राजनीतिका कारण जनतामा चरम निराशा छाएको कुरालाई कांग्रेसले नजरअन्दाज गर्न नहुने उनको ठहर छ।