शनिबार र आइतबार पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकाे सम्भावना
लगातार दुई हप्तादेखि उच्च तापक्रम मापन भइरहेकाे वेला पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले मुलुकका केही क्षेत्रमा बादल लाग्दा राहत भएको छ। तराईका एक दर्जनभन्दा बढी ठाउँमा अधिकतम तापक्रम ४० देखि ४२ डिग्री सेल्सियस मापन भइरहेका समयमा बिहीबारबाट केही सुधार भएको छ। बिहीबार भैरहवाको अधिकतम तापक्रम ३७.६ डिग्री सेल्सियस (डिसे)मा झरेको थियो। त्यसअघिका दिनहरूमा भैरहवामा ४२.६ डिग्री सेल्सियस मापन भइरहेको थियो।
काठमाडौंको अधिकतम तापक्रम पनि ३०.५ डिग्री सेल्सियसमा झरेको छ। यसअघि काठमाडौंको तापक्रम ३३ डिग्री सेल्सियसभन्दा माथि थियो। शुक्रबार काठमाडौंमा हल्का बादल लागेको छ। धनगढी, नेपालगन्ज, सिमरा, जनकपुर, विराटनगरको तापक्रम पनि केही घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार पछिल्ला दुई साता लगातार तापक्रम बढिरहेकाेमा बादल लाग्न थालेपछि केही घटेको हो। शनिबार पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गर्ने देखिएको छ। यो प्रणालीले वर्षासमेत गराउने आकलन छ।
शनिबार र आइतबार पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने देखिन्छ। त्यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
साताको मध्य तथा अन्त्यमा लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाले बिहीबार जारी गरेको कृषि बुलेटिनमा पनि आगामी साता अधिकतम तापक्रम घट्ने उल्लेख छ। तर, न्यूनतम तापक्रममा भने उल्लेखनीय परिवर्तन हुने छैन।