अलैँचीलाई पनि चिया तथा कफी विकास बोर्डअन्तर्गत राख्ने तयारी

आइतबार, २५ चैत, २०८०
डिजिटल संस्करण

बर्सेनि आठ अर्बभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने अलैँचीलाई सरकारले चिया तथा कफी विकास बोर्डअन्तर्गत राख्ने तयारी गरेको छ । अलैँचीलाई चिया तथा कफी विकास बोर्डअन्तर्गत राख्न ऐन संशोधनको ड्राफ्ट तयार गरी बोर्डले कृषि तथा पशुपक्षी विकास मन्त्रालय पठाइसकेको छ । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ लाई संशोधनको तयारी भइरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. दीपक खनालले जानकारी दिए । ‘दुई वर्षअघि तत्कालीन कार्यकारी निर्देशकले अलैँचीलाई पनि बोर्डमातहत ल्याउन पहल गर्नुभएको थियो । त्यही समय सचिवस्तरीय निर्णयले अलैँचीलाई पनि बोर्डअन्तर्गत राख्ने पत्र आयो,’ उनले भने, ‘त्यहीअनुसार हामीले संशोधनको ड्राफ्ट तयार पार्यौँ । मन्त्रालयमा हामीले ऐनको ड्राफ्ट पठाइसकेका छौँ । चाँडै संसद्मा पेस होला ।’ 

डा. खनालका अनुसार चिया तथा कफीका लागि बर्सेनि १३ करोड हाराहारी बजेट विनियोजन गर्दै आएको छ । तर, उक्त बजेटको करिब ७० प्रतिशत रकम दैनिक प्रशासिनक खर्चमै जाने गरेको छ । जसका कारण चिया तथा कफीको क्षेत्रमा सोचेजस्तो काम हुन नसकेको उनले स्वीकार गरे । अलैँची व्यवसायीले भने सरकारले बोर्ड गठनभन्दा पनि पहिला अलैँचीसम्बन्धी राष्ट्रिय नीति जारी गर्नुपर्ने माग राखेका छन् । ‘बोर्डभन्दा पनि पहिला अलैँचीसम्बन्धी राष्ट्रिय नीति ल्याउन आवश्यक छ । नीतिको ड्राफ्ट गरेर मन्त्रालयमा थन्क्याइएको छ । अहिलेसम्म सरकारले ल्याउन सकेको छैन,’ अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले भने । 

See More On

सुझावित समाचार