भारतमा नेपालको सहज जित

बलिङतर्फ गुल्सन झा र ब्याटिङमा कप्तान रोहितकुमार पौडेलसँगै अनिलकुमार शाह चम्किएपछि एसएमएस फ्रेन्डसिप कप– २०२४ मा नेपालले गर्‍यो विजयी सुरुवात

सोमबार, १९ चैत, २०८०
डिजिटल संस्करण

ओमानमा आयोजना हुने एसिसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले सहज जित निकालेको छ । आइतबार गुजरातको स्टेट टिमविरुद्ध गुल्सन झाको उत्कृष्ट बलिङ प्रेरित नेपालले आठ विकेटको जित निकालेको हो । कप्तान रोहितकुमार पौडेल र अनिल शाहले अविजित इनिङ्स खेल्दै नेपाललाई जित दिलाएका हुन् ।

मोन्टी देसाईको प्रशिक्षणमा रहेको नेपालले यस खेलबाट एसिसी प्रिमियर कप तथा आइसिसी टी–२० विश्वकपका लागि राम्रो तयारी हुने आशा गरेको छ । एसएमएस फ्रेन्डसिप कप २०२४ को शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले दोस्रो खेल २० चैतमा बरोडासँग खेल्नेछ । २१ चैतमा २१ गुजरात तथा २३ चैतमा बरोडासँग दोस्रो खेल खेल्नेछ । फाइनल २५ चैतमा हुनेछ । यसपछि नेपाल ओमानमा हुने एसिसी प्रिमियर कपमा सहभागी हुनेछ । 

यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले १८.२ ओभरमा अलआउट हुँदै नेपाललाई ९९ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले रणजी टिमविरुद्ध १५.२ ओभरमा दुई विकेट गुमाउँदै जित हात पारेको हो । गुजरात टिमविरुद्ध प्रशिक्षक मोन्टीले रोहित र अनिल तथा गुल्सनसँगै आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरालाई अवसर दिएका थिए ।

नेपालका ओपनरद्वय कुशल भुर्तेलले १७ र आसिफ शेखले १६ रन जोडेका थिए । त्यसपछि क्रिजमा आएका अनिलले ३२ तथा कप्तान रोहितले ३३ रनको योगदान गरेका हुन् । अनिलले ३५ बलमा ३ चौका र एक छक्का तथा रोहितले २६ बलमा ३ चौका प्रहार गरेका हुन् । 

गुल्सन चम्किँदा गुजरातको ब्याटिङ धराशयी 
टस जितेर फिल्डिङ रोजेको नेपालका लागि गुल्सन झा चम्किएपछि गुजरातको टोली कमजोर बनेको थियो । गुजरातको इनिङ्समा कुनै पनि खेलाडीले ठूलो साझेदारी गर्नै पाएनन् । बलिङमा नेपालका गुल्सनले चार विकेट लिए । गुल्सनले चार ओभरमा २२ रन खर्चिएका हुन् । करण केसीले तीन विकेट लिए । उनले ३.२ ओभरमा २२ रन नै दिए । सोमपाल कामीको नाममा एक विकेट रह्यो । 

गुजरातका लागि ओपनर रुद्र मयुर पटेलले सर्वाधिक २३ रन जोडेका थिए । नेपालका दीपेन्द्रसिंह ऐरीबाट रनआउट भएका उनले २२ बलमा चार चौका प्रहार गरेका हुन् । सरल प्रजापति १७ रनमा रनआउट भए । गुजरातका स्मित पटेलले १०, अभिषेक देसाईले ११ र हेमंग पटेलले २० रन बनाएका थिए । 

सुझावित समाचार