अदालतले दोषी ठहर गरेपछि वडाध्यक्ष, शिक्षक र रोजगार संयोजक पक्राउ

मंगलबार, १३ चैत, २०८०
डिजिटल संस्करण

बैतडीको सिगास गाउँपालिका– ३ का वडाध्यक्ष, सोही पालिकाका रोजगार संयोजक र एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बैतडीको फैसलाअनुसार वडाध्यक्ष अमरसिंह धामी, रोजगार संयोजक राजेन्द्रसिंह धामी र भुवन भाष्कर मावि, चमडेखर्कका शिक्षक मनोज धामीलाई एक महिना कैद सजाय र १० हजार जरिवानाको फैसला गरेको थियो । जबर्जस्ती करणी र सार्वजनिक कसुरविरुद्धको मुद्दाको फैसला कार्यान्वयन गर्न उनीहरूलाई प्रहरीले सोमबार साँझ पक्राउ गरी जिल्ला अदालतसमक्ष पेस गरेको छ ।

 पक्राउ परेका तीनजनामध्ये वडाध्यक्ष अमर र शिक्षक मनोजले यसअघि नै २७–२७ दिन र रोजगार संयोजक २५ दिन कारागार बसिसकेकाले दुईजनाले क्रमशः तीन–तीन दिन र एकजनाले पाँच दिन मात्र कैद भुक्तान गर्न बाँकी रहेको बैतडीका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । तीन वर्षअघि सिगास गाउँपालिका– ३ बस्ने १८ वर्षीया एक किशोरीलाई  पानी भर्न जाँदा बाटो ढुकेर बसेका स्थानीय युवक दीपक धामीले बलात्कार गरेका थिए ।

उक्त घटनापछि युवकले एक तोला सुन दिनुपर्ने र युवतीले उजुरी नगर्ने कागज गरिएको थियो । सो कागजमा वडाध्यक्ष अमरसिंह धामी, रोजगार संयोजक राजेन्द्रसिंह धामी र शिक्षक मनोज साक्षी बसेका थिए । मिलापत्रका साक्षी बसेर बलात्कारको घटना लुकाउन सहयोग गरेका वडाध्यक्ष, शिक्षक र रोजगार संयोजकलाई जिल्ला अदालतले दाषी ठहर गरेको थियो ।

उच्च अदालतबाट समेत सोही फैसला सदर भएकाले तीनैजनालाई सोमबार पक्राउ गरिएको प्रहरीले बताएको छ । उक्त घटनामा साक्षी बसेका अन्य दुईजनाले सफाइ पाएका छन् भने घटनाको मुख्य दाषी दीपक धामी अझै फरार छन् ।  

सुझावित समाचार