कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेस एकढिक्का भएर अगाडि बढेमा कसैको बैसाखी लिनु नपर्ने बताएका छन् । जिपी कोइराला स्मृति प्रतिष्ठान बुटवल रुपन्देहीको भवन शिलान्यास गर्दै बुधबार उनले कांग्रेस कार्यकर्तालाई टोलटोल, वडावडासम्म पुगेर जनताका सुखदुःखमा साथ दिँदै अगाडि बढ्न निर्देशनसमेत दिए ।
‘सहमति, सहकार्य र एकता कांग्रेसभित्रै गरौँ, बैसाखी कांग्रेसकै साथीहरूको लिएर अगाडि बढौँ । एकढिक्का भए लक्ष्यमा पुग्न सक्छौँ,’ उनले भने । कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भाैँतारिरहेको टिप्पणी पनि गरे ।
शान्ति प्रक्रियाका धेरै कुरा टुंगोमा पुगे पनि महत्वपूर्ण सत्य निरूपण तथा मेलमिलापको पक्ष बाँकी नै रहेको उल्लेख गर्दै उनले सत्य निरूपण तथा मेलमिलाप टुंगोमा पुर्याउनु भनेको पीडितहरूलाई मलम लगाउन पनि भएको बताए । उनले सर्वोच्च अदालतले दिएका निर्देशन, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्थाले राखेका विषयलाई ध्यानमा दिएर टुंगोमा पुग्नुपर्ने धारणा राखे ।