बंगलादेशसँग डलरमा विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

प्राधिकरणको टोली बंगलादेशमा, प्रतियुनिट ९.३१ रुपैयाँमा पिपिए गर्ने तयारी

बिहिबार, १० फागुन, २०८०
डिजिटल संस्करण

बंगलादेशमा निर्यात गरिने बिजुलीको खरिद–बिक्रीदर तय गर्न नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेश प्रस्थान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बुधबार बंगलादेश गएको हो । टोलीले बिहीबार बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग छलफल गरेर विद्युत् खरिद–बिक्रीदर टुंगो लगाउनेछ । टोलीमा प्राधिकरणका उच्च अधिकारीसहित कानुन तथा विद्युत् व्यापार बिभागका प्रतिनिधिहरू छन् । बिहीबार छलफलले पीपीए दरसँगै भुक्तानी गर्ने समयसीमा, विद्युत् उपलब्ध गराउन नसके हुने पेनाल्टीलगायत बिषयमा पनि सहमति गरिनेछ । 

ह्विलीङ चार्ज भने बंगलादेशले नै तिर्ने प्रारम्भिक सहमति भएको छ ।बंगलादेशले गत माघ दोस्रो साता ४० मेगावट विद्युत् किन्ने नेपालसँग प्रस्ताव मागेको थियो । त्यसलगत्तै प्राधिकरणले बंगलादेशमा पेस गरेको प्रस्तावमा बिहीबार छलफल गरी अन्तिम रूप दिइने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

‘बंगलादेशमा विद्युत् बिक्री गर्न भारतलाईसमेत समावेश गराएर छुट्टै त्रिपक्षीय सम्झौता हुँदै छ । जुन सम्झौता विद्युत् व्यापारसम्बन्धी सर्त तथा प्रावधानमा केन्द्रित हुनेछ,’ बंगलादेश प्रस्थान गर्नुअघि उनले भने, ‘त्योबाहेक बंगलादेशमा बिक्री गरिने विद्युत्को मूल्य तय गर्न छुट्टै द्विपक्षीय सम्झौता आवश्यक थियो । त्यसपछि खरिद प्रक्रियामार्फत यसको मूल्य तय गरिँदै छ । बिहीबारकै छलफलबाट त्यो दर तय हुनेछ ।’ 

प्राधिकरणकाकार्यकारी निर्देशककुलमान घिसिङ भन्छन्–बंगलादेशले गत माघ दोस्रो साता ४० मेगावट विद्युत् किन्ने नेपालसँग प्रस्ताव मागेको थियो । त्यसपछि प्राधिकरणले बंगलादेशमा पेस गरेको प्रस्तावका बिषयमा बिहीबार छलफल गरी अन्तिम रूप दिइने छ । अहिले प्राधिकरणले भारतमा मध्यकालीन मोडेलमा प्रतियुनिट ५.२५ भारु (८.४० रुपैयाँ)मा विद्युत् बिक्री गरेको छ । त्योभन्दा उच्चदरमा बंगलादेशसँग पिपिए हुनेछ । 

बिहीबार तय हुने मूल्यदरलाई बंगलादेशले आफ्नो मन्त्रीस्तरीय बैठक वा मन्त्रिपरिषद्बाट स्वीकृत गर्नेछ । त्यसपछि प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् खरिद–बिक्री सम्झौता हुनेछ । यस्तै, कार्यकारी निर्देशक घिसिङले त्रिपक्षीय सम्झौता पनि छिट्टै हुने बताए । ‘त्रिपक्षीय सम्झौतापत्रको मस्यौदामा नेपाल, भारत र बंगलादेशले सहमति जनाइसकेका छन् । तसर्थ, अब त्रिपक्षीय सम्झौता पनि छिट्टै हुन्छ,’ उनले बताए । प्राधिकरण, बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय सम्झौता हुनेछ । 

नेपाल र बंगलादेशबीच सीमा नजोडिएको कारण दुई देशबीच डेडिकेटेड अन्तरदेशीय प्रसारण लाइन पनि छैन । त्यसैले, तत्काललाई भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पु¥याउने योजना छ । त्यसबापत भारतले ह्विलिङ चार्जबापत केही रकम पाउनेछ । 

 बंगलादेशसँग डलरमा पिपिए गरिने
बंगलादेशसँग तय हुने विद्युत् खरिद–बिक्रीदर (मूल्य) डलरमा तय गरिने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । प्रतियुनिट सात सेन्ट (बुधबारको विनिमयदरअनुसार ९.३१ रुपैयाँं) हाराहारीमा पिपिए दर निर्धारण हुन सक्ने प्राधिकरणको भनाइ छ । अहिले प्राधिकरणले भारतमा मध्यकालीन मोडेलमा प्रतियुनिट ५.२५ भारु (८.४० रुपैयाँ)मा विद्युत् बिक्री गरेको छ । त्योभन्दा उच्चदरमा बंगलादेशसँग पिपिए हुने घिसिङको भनाइ छ । जिएमआरले नौ सय मेगावाटको अपर कर्णाली जलविद्युत् आयोजनाको पाँच सय मेगावाट विद्युत् बंगलादेशमा बिक्री गर्दै छ । त्यसमा भने बंगलादेशले प्रतियुनिट ७.७१२ सेन्टमा विद्युत् किन्ने गरी जिएमआरलाई ०१९ मै आशयपत्र पठाएको थियो । तर, प्राधिकरणले भने त्योभन्दा कम मूल्यमा पिपिए गर्ने सम्भावना रहेको छ ।

  आउँदो बर्खाबाटै विद्युत् बिक्री 
आउँदो बर्खाबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने योजना प्राधिकरणले बनाएको छ । हरेक वर्ष १ असारदेखि ३० कात्तिक (जुन १५ देखि नोभेम्बर १५)सम्म विद्युत् निर्यात गर्ने बंगलादेशसँग सम्झौता हुनेछ । प्राधिकरणले गएकै बर्खाबाट बंगलादेशमा विद्युत् बिक्री गर्ने योजना बनाए पनि त्रिपक्षीय सम्झौता नहुँदा सफल भएन । ‘अब बंगलादेशसँग खरिद–बिक्रीदर तय भइहाल्छ, यो आफैँमा महत्वपूर्ण चरण हो । त्रिपक्षीय सम्झौताको मस्यौदामा पनि तीनै देशको सहमति जुटिसकेको छ,’ घिसिङले भने, ‘अब यसमा ढिलाइ हुँदैन । आउँदो बर्खादेखि बंगलादेशमा विद्युत् निर्यात सुरु हुन्छ । सांकेतिक रूपमा यो नेपालका लागि महत्वपूर्ण उपलब्धि हो ।’

बंगलादेशमा २३.२८ मेगावाटको त्रिशूली र १९.४० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् बिक्री गरिँदै छ । उक्त आयोजनाको बिजुली आफ्नो प्रसारण लाइन हुँदै बंगलादेश लैजान भारतले यसअघि नै स्वीकृतिसमेत दिइसकेको छ । बंगलादेशमा पनि विद्युत् निर्यात गर्न निश्चित आयोजनालाई स्रोत देखाएर भारतबाट पूर्वस्वीकृति लिनुपर्ने भारतीय सर्त छ । योसँगै नेपाल अन्तरदेशीय विद्युत् व्यापारबाट क्षेत्रीय विद्युत् व्यापारमा पनि प्रवेश गर्नेछ । अहिले नेपाल–भारतबीच विद्युत् व्यापार भइरहेको छ । सीमै नजोडिएको बंगलादेशसँग विद्युत् व्यापार हुनु आफैँमा ठूलो उपलब्धि रहेको घिसिङ बताउँछन् । 

 बंगलादेशमा विद्युत् व्यापारको घटनाक्रम
नेपाल र बंगलादेशबीच ऊर्जामा सहकार्य गर्न सन् ०१८ मा सहमति भएको थियो । सोहीअनुसार ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिसमेत गठन भएको थियो । सोही समितिको बैठक हरेक वर्ष बस्दै नेपाल–बंगलादेशबीच विद्युत् व्यापारको अवधारणा अघि बढाइएको थियो । ०७९ भदौमा काठमाडौंमा सम्पन्न ऊर्जासचिवस्तरीय बैठकमा बंगलादेशले कात्तिक ०७९ भित्रै नेपालबाट ४० देखि ५० मेगावाट विद्युत् किन्ने सहमति गरेको थियो । तर, भारतसँग समयमै समन्वयन नहुँदा त्यो सफल हुन सकेन । 

गत फागुनमा सम्पन्न नेपाल–भारत ऊर्जा बैठकमा भारतले आफ्नो प्रसारण प्रणालीबाट नेपालको ५० मेगावाटसम्म विद्युत् बंगलादेश लैजान दिने सहमति गरेको थियो । त्यसपछि नेपालले बंगलादेशमा विद्युत् बिक्री गर्न थप प्रक्रिया अघि बढाएको थियो । त्यसपछि गत जेठमा भएको नेपाल बंगलादेश ऊर्जा बैठकमा गएकै बर्खामा विद्युत् व्यापार गर्ने योजना थियो । तर, त्यो सफल भएन । 

यद्यपि, यो आउँदो बर्खादेखि बंगलादेशमा विद्युत् निर्यात हुने प्राधिकरणको विश्वास छ । भारतले सहमति जनाइसकेको र बंगलादेश आफैँ अग्रसर भएको अवस्थामा यो सम्भव हुने प्राधिकरणको दाबी छ । सन् २०३५ सम्म बंगलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य छ । बंगलादेशले कोइला तथा डिजेल प्लान्टबाट विद्युत् उत्पादन गर्दै आएको छ । 

सुझावित समाचार