सोमबारदेखि पाँच दिन धेरै स्थानमा बदलीकाे सम्भावना

आइतबार, ६ फागुन, २०८०
डिजिटल संस्करण
सोमबारदेखि पाँच दिन धेरै स्थानमा बदलीकाे सम्भावना

वर्षा र हिमपातको सचेतना नक्सा

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म देशका धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ।

उक्त माैसम प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा रहेकाले सोमबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहीबारदेखि शुक्रबारसम्म बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

यसैगरी, सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मंगलबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शुक्रबार गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। शनिबारदेखि क्रमशः मौसममा सुधार हुँदै जाने प्रक्षेपण छ।

उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

See More On

सुझावित समाचार