यसपटक हिउँदको उत्तरार्धमा बल्ल हिउँदे वर्षा हुने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुधबार पश्चिम नेपालमा वर्षाको सम्भावना छ।
बुधबार अपराह्नबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा वर्षा र हिमपात हुने आकलन गरिएको हो।
महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै बागमती र कोशीका पहाडी भूभागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षा हुने आकलन महाशाखाको छ।
बुधबारदेखि हिमपातको सम्भावना पनि छ। महाशाखाका अनुसार बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात हुनेछ। बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
वर्षा र हिमपातका कारण बुधबार र बिहीबार तापक्रम घटेर चिसो बढ्न सक्ने सम्भावना छ। शुक्रबारबाट भने सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने देखिन्छ।