तल्लो तहका कर्मचारी निजी काममा प्रयोग गरेको भन्दै जिसस प्रमुख बोहराविरुद्ध अख्तियारमा उजुरी

मैले कुनैपनि कर्मचारीलाई निजी काममा प्रयोग गरेको छैन : बोहरा

मंगलबार, १६ माघ, २०८०
डिजिटल संस्करण

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले कार्यालयमा रहेका तल्लो तहका  कर्मचारीलाई निजी काममा प्रयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ । जिसस प्रमुख बोहराले कार्यालयका निम्नस्तरका कर्मचारी (कार्यालय सहयोगी र चालक)हरूलाई निजी काममा प्रयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा उजुरी परेको हो । 

जिसस प्रमुख बोहराले कार्यालय सहयोगी र चालकलाई आफ्नो निजी घरायसी काम र व्यावसायिक काममा दुरुपयोग गर्दै आएको उजुरी बाहिरिएको छ । जिसस प्रमुख बोहराले आफ्नो निजी घर र पसलमा काममा लगाउने गरेको आरोप छ । उजुरीको पत्रमा चालक देव महतालाई निजी कामका लागि भारत पठाउने गरेको, सरकारी सवारीसाधनको नम्बर प्लेटसमेत परिवर्तन गर्ने गरेको छ । 

चालक महतालाई जिसस प्रमुखको निजी व्यवसायमा सरकारी सेवाका कर्मचारीहरूलाई निजी व्यक्तिगत काममा लगाउने गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले ४ पुस ०८० मा प्रशासन कार्यालय कञ्चनपुरलाई पत्राचार गर्दै आवश्यक कारबाही गर्न निर्देशन दिएको छ । 

अख्तियारको पत्रलाई प्रशासनले जिल्ला समन्वय समिति कञ्चनपुरलाई प्रतिक्रिया पठाउनसमेत निर्देशन दिएको छ । निम्नस्तरका कर्मचारीलाई काममा लगाएको भन्दै कर्मचारी संघ–संगठनहरूले समेत असन्तुष्टि जनाएका छन् । यसरी कुनै पनि उच्चपदस्थदेखि जिम्मेवार व्यक्तिबाट निजी काममा लागि प्रयोग गर्न नहुने तर्क राखेका छन् । नेपाल निजामती कर्मचारी संगठनको आधिकारिक ट्रेड  युनियनका अध्यक्ष खगेन्द्र पण्डितले सरकारी कर्मचारीलाई कुनै पनि निजी काममा प्रयोग गर्न नहुने बताए । 

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले आफूले कुनै पनि निम्नस्तरका कर्मचारीलाई निजी काममा नलगाएको स्पष्ट पारेका छन् । जिसस प्रमुख बोहराले आफूले निजी कामका लागि घर र पसलमा कर्मचारी लगाउने अख्तियारमा झुटा आरोपसहित मुद्दा दायर गरेको बताए । ‘मैले सरकारी कर्मचारीलाई निजी काममा लगाएको विषय पूरै झुटा हो,’ उनले भने, ‘यसरी सरकारी कर्मचारी निजी काममा लगाएको आरोपसहित अख्तियारमा दायर गरेको मुद्दा हास्यास्पद छ ।’

आफूहरूको व्यापार–व्यवसाय बाजेकै पालादेखि भएकाले कसैलाई रिस रहेको उनको भनाइ छ । आफ्नाविरुद्धमा राजनीतिक पूर्वाग्रही राखेर आक्राेश पोखिएको बताए । जिसस प्रमुख बोहराले आफूले कर्मचारी निजी काममा लगाएको विषयमा सम्बन्धित कर्मचारीलाई सोध्नसमेत आग्रह गरेका छन् । जिसस प्रमुख बोहराले अख्तियारबाट प्रशासनले सोधेको प्रतिक्रिया कार्यालयले दिइसकेको बताए । 

सुझावित समाचार