चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जलवायु परिवर्तनबाट नेपालजस्ता अल्पविकसित देशहरूले भोग्नुपरेको असरबारे विश्वको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

स्विट्जरल्यान्डको डाभोसमा सम्पन्न ‘वर्ल्ड इकोनोमिक फोरम’मा नेपाली निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागी भएका उनले विश्व जलवायु परिवर्तनको नकारात्मक असर दिन–प्रतिदिन चुनौती बन्दै गइरहेको बताए । जलवायु परिवर्तनको असर न्यून गर्न विकसित देशहरूको भूमिका अग्रणी रहने भएकाले साझा एजेन्डासहित सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
विश्वका महत्वपूर्ण एजेन्डामाथि छलफल गरिने उक्त फोरममा नेपालको निजी क्षेत्रको तर्फबाट चौधरी एक्ला सहभागी हुन् । फोरमअन्तर्गतको ‘अल्पाइन इकोनोमिज एट +२सी’ सेसनमा बोल्दै उनले विश्वको औसत तापक्रम वृद्धिको असर नेपालजस्ता हिमाली र पर्वतीय मुलुकमा अझ बढी र छिटो देखापरेको हुनाले विश्वले जलवायु परिवर्तनलाई मुख्य चुनौतीका रूपमा लिनुपर्नेमा उनको जोड थियो । विश्वका सबैभन्दा प्रभावशाली राजनीतिक, व्यापारिक र सांस्कृतिक नेताहरू उपस्थित सो फोरमका विभिन्न प्यानलमा बोल्दै उनले जलवायु संकट न्यूनीकरणमा अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका महत्वपूर्ण रहनेमा ध्यानाकर्षण गराए ।