प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७२ सालमा गएको महाभूकम्प र त्यसपछि आएका पटकपटकमा भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माणको काम गर्ने तयारीमा सरकार रहेको बताएका छन्।
बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माणसम्बन्धी बृहत् अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्रीले भने, ‘प्रभावित क्षेत्रमा क्षतिको आकलन तथा आवश्यकता पहिचानको काम करिबकरिब सम्पन्न भएको छ। यसका आधारमा उपयुक्त कार्ययोजना तय गरी प्रदेश र स्थानीय तहको अगुवाइ तथा तीनै तहको समन्वयमा पुनर्निर्माणको कार्य प्रारम्भ गर्नेछौँ। हामीले घरहरू मात्रै बनाएर पुग्दैन, त्यहाँ सार्वजनिक संरचनाको पुनर्निर्माण तथा आर्थिक, सांस्कृतिकसहित समग्र पुनर्निर्माणको योजना बनाएर अघि बढ्ने योजना हुनुपर्दछ।’
पुनर्निर्माणको काम अघि बढाउँदा कर्णाली र सुदूरपश्चिमका जनताको सामाजिक, सांस्कृतिक पहिचान र संस्कृतिको सम्मानका साथै उनीहरूसँगको छलफल र सहमतिका आधारमा निर्णय गर्ने र विपत् व्यवस्थापनमा स्थानीय तहको क्षमता अभिवृद्धि हुने गरी कार्ययोजना बनाउन प्रधानमन्त्रीले निर्देशन दिए।
यसैगरी, पुनर्निर्माणको कार्यमा स्थानीय स्रोतसाधनको उपयोग र परिचालन, सीप विकास तथा रोजगारी सिर्जनाको अवसर, मौलिक तथा भूगोल र जलवायुअनुकूल बस्ती विकासलाई समेत विशेष ध्यान आग्रह गर्दै उनले भने, ‘०७२ को गोरखा र सिन्धुपाल्चोकको भूकम्पको अनुभवबाट पाठ सिक्दै नेपाललाई कसरी विपत् र जलवायु परिवर्तन उत्थानशील बनाउने भन्ने चुनौती हाम्रासामु छ। हामी ०७२ मा गठन गरिएको पुनर्निर्माण प्राधिकरणजस्तो छुट्टै निकाय बनाउने बाटोमा जाँदैनौँ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अझै सशक्त बनाउन ऐन परिमार्जन गरेर भए पनि यसलाई साधनस्रोतसम्पन्न गरेर र यस प्राधिकरणको सांगठनिक संरचनालाई मजबुत बनाएर यसैमार्फत पुनर्निर्माणको काम अघि बढाउँछाैँ।’