लम्पी स्किनका कारण ७६ अर्ब चार लाख रुपैयाँबराबरको क्षति भएको नेपाल पशु चिकित्सा परिषद्ले प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको छ । परिषद्ले गरेको प्रारम्भिक अध्ययनले सोबराबरको क्षति भएको आकलन गरेको हो । पशुसेवा विभागका अनुसार ६५ हजार चार सय पशुको लम्पी स्किनका कारण मृत्यु भएको छ । त्यस्तै, अझै पनि सक्रिय संक्रमितको संख्या १७ हजार तीन सय रहेको विभागको भनाइ छ । हालसम्म लम्पी स्किन संक्रमित हुने पशुको संख्या १५ लाख ३६ हजार पुगेको छ ।
लम्पी स्किन सुरु भएको एक वर्ष पुग्नै लाग्दा रोग पुनः दोहोरिने सम्भावना पनि रहेको परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले बताए । फागुन, चैत महिनादेखि सुरु हुने सम्भावना रहेको लम्पी स्किन संक्रमणलाई सरकारले गम्भीर ढंगले नलिए फेरि विकराल बन्ने उनको भनाइ छ । ‘रोग पूर्ण नियन्त्रणमा आउन नसक्नुमा हाम्रो स्थानीय तहको भौतिक संरचना प्रमुख कारण देखिन्छ, कतिपय स्थानीय तहलाई रोगबारे समयमै जानकारी नहुने र लापरबाहीका कारण यो संक्रमण झनै जटिल बन्दै छ,’ उनले भने, ‘रोग नियन्त्रण गर्ने समय अहिले नै हो, चैतदेखि लामखुट्टे, झिँगालगायत बढ्ने हुँदा यसलाई सरकारले अहिले नै नियन्त्रण गर्न पहल लिनुपर्छ ।’
नेपाल सरकारलाई दिइएको परामर्शमा परिषद्ले रोग नियन्त्रण प्रभावकारी रूपमा गर्न नसकेमा २५ लाखमा संक्रमण हुने र करिब एक लाख गाई–भैँसी मर्न सक्ने चेतावनी दिएको छ । अझै पनि संक्रमण दर नियन्त्रणमा नआइसकेको र संक्रमण फैलिने समय पुनः सुरु हुन लाग्दा सरकारले नियन्त्रयण र क्षति व्यहोरेका किसानलाई राहत दिन गम्भीर नभएको परिषद्को भनाइ छ ।
लम्पी स्किन संक्रमणबाट पीडित किसानलाई राहत दिने गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कार्यविधिसहितको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाए पनि अर्थले बजेट स्वीकृत नगरिदिँदा लामो समयदेखि पीडित किसानले राहत पाउन सकेका छैनन् ।
लम्पी स्किन संक्रमणका कारण पशुधन गुमाएका करिब ५७ हजार किसान पाँच महिनादेखि राहतको पर्खाइमा छन् । पछिल्लो समय संक्रमण नियन्त्रणमा रहेको पशुसेवा विभागले बताए पनि क्षति व्यहोरेका किसानलाई राहत उपलब्ध गराउन बजेट विनियोजन नहुँदा अन्योल भएको हो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले लम्पी स्किनको राहत उपलब्ध गराउन मापदण्डसहितको प्रतिवेदन प्रधानमन्त्री कार्यालय र बजेट विनियोजनका लागि अर्थ मन्त्रालयमा पेस गरेको सात महिनाभन्दा बढी बितिसकेको छ । कृषि मन्त्रालयले पठाएको मापदण्डअनुसार पीडित किसानलाई राहत दिन कम्तीमा २६ करोड चाहिन्छ । मन्त्रालयले लम्पी स्किन रोगबाट पीडित किसानलाई क्षतिअनुसार पाँच हजारदेखि २० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने प्रस्ताव पठाएको छ ।
लम्पी स्किनको संक्रमण ०७७ साल असारमा मोरङमा देखिएको हो । १५ लाख पशु संक्रमित हुँदा पशुको संख्या १५ लाख १९ हजार रहेको थियो । त्यसमध्ये उपचारपछि १३ लाख ९३ हजार पशु संक्रमणमुक्त भएको विभागको दाबी छ । त्यसयता खोप लगाउने पशुको संख्या करिब १५ लाख पुगेको विभागले जनाएको छ ।
कृषि मन्त्रालयले किसानलाई मरेको पशुको संख्या, पशुको प्रकारलगायतका आधारमा राहत उपलब्ध गराउन मापदण्ड बनाएको छ । दुधालु गाई–भैँसीको मूल्य, पशुको उमेर, जातलगायतका आधारमा राहत वितरण गरिने प्रस्तावित मापदण्डमा उल्लेख छ ।
राहत वितरण सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा गरिने मापदण्डमा उल्लेख छ । मन्त्रालयका पशु शाखाका प्रमुख डा. तपेन्द्रप्रसाद बोहराले अर्थ मन्त्रालयबाटै बजेट निकास नहुँदासम्म राहतको विषयमा केही भन्न सक्ने अवस्था नभएको बताए । उनले भने, ‘हामीले प्रस्ताव पठाएका छौँ, खै के कारणले मन्त्रालयले चासो देखाएकै छैन, यसो हेर्दा केही समय अझै लाग्ने देखिन्छ ।’