ढल बिछ्याउने भन्दै काठमाडौं महानगरपालिकाले बत्तीसपुतलीस्थित अरनिको मार्ग भत्काएर छाड्दा तीन सातादेखि सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । बस्ती छिर्ने सहायक सडक भत्काएर अलपत्र छाड्दा पैदलयात्री र सवारीसाधन ओहोरदोहोरमा सास्ती भएको हो ।
महानगरले पिपलमार्ट–कुमारी मन्दिरसम्म करिब पाँच सय मिटर सडक भत्काएको छ । तत्काल बनाउने भनेर भत्काइएको सडक तीन सातासम्म पनि बनाउने सुरसुर नहुँदा सास्ती भएको स्थानीयको गुनासो छ । अरनिको मार्गमा बस्दै आएका फरक क्षमताका सागर प्रसाईंले सडक बिग्रँदा ह्विलचेयर गुडाउन नसकेको र घरबाहिर निस्कनबाट वञ्चित भएको बताए ।
‘२०–२५ दिनदेखि थुनिएझैँ भएर बसेको छु, ह्विलचियर निकाल्नै मिल्दैन । काम गरेर खाने मान्छे हो,’ उनले भने, ‘यसरी घरमा थुनिँदा, मेरो काम नै रोकियो, निकै अवसर गुमिसके, यसरी त मेरो जीविकोपार्जन नै धरापमा पर्यो र घरमा एक्लै बस्दा–बस्दा मेरो मानसिक स्वास्थ्य पनि खलबलिन थालिसक्यो ।’ सडक भत्काएर अलपत्र पारेपछि उनले हेल्लो सरकार, काठमाडौं महानगरलगायतलाई बाटो खुलाइदिन आग्रह गरेका थिए । तैपनि सम्बन्धित निकायले सुनुवाइ नगरको प्रसाईंको भनाइ छ ।
महानगरका प्रवक्ता नवीन मानन्धरले भने यसको जिम्मेवारी वडाले लिनुपर्ने बताए । ‘त्यसरी काम अलपत्र छाड्नुहुँदैन, यसबारे बुझ्छौँ,’ उनले भने, ‘सर्वसाधारणलाई सास्ती भएको हो भने तुरुन्त समाधान गर्नुपर्छ ।’ काठमाडौं महानगरपालिका– ९ का वडासदस्य श्रीराम राईले पुरानो ढल हटाएर नयाँ ढल व्यवस्थापनको काम भइरहेकाले सडकमा अवरोध पुगेको बताए । ‘हामीले सडक नै अवरोध गर्न खोजेका होइनौँ, ढल व्यवस्थापनका लागि गहिरो खन्नुपर्ने भएकाले समय लाग्यो,’ उनले भने, ‘हामीले ठेकेदारलाई छिटो काम सकाउन र सडक सम्याउन भनिसकेका छौँ ।’ उनले ढल खन्दा खानेपानीको पाइप फुटेपछि व्यवस्थापनमा समय लागेकोे जानकारी दिए । उनका अनुसार वडाले नै ढल व्यवस्थापनको काम गरिरहेको छ । तर, ठूलो ह्युमपाइप राख्दा ढिलो भएको उनको भनाइ छ ।